उनले आर्थिक सहयोगको याचना गरेको २४ घण्टा नबित्दै देश तथा विदेशबाट सो रकम उठेको हो ।

घुँडामा हालिएको ग्राफ्ट र एमसिएलमा गम्भीर चोट लागेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएको र त्यसका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताउँदै उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन्।
साम्बाको अपिलसँगै देश–विदेशबाट सहयोगको ओइरो लागेको हो। विभिन्न मुलुकमा रहेका युवाहरूले ‘हेल्प साम्बा’ अभियान सञ्चालन गर्दै हालसम्म ४५ हजार अमेरिकी डलरभन्दा बढी संकलन गरिसकेको जानकारी प्राप्त भएको छ ।
नेपालभित्र पनि राजनीतिक दल, सामाजिक अभियन्ता तथा विभिन्न व्यक्तिहरूले सहयोगको घोषणा गरेका छन्।
नेपाली कांग्रेस ले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
टिकटकर तथा अभिनेता पारस बम ठकुरी ‘कुल ब्वाय’ ले ३ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै प्रजातान्त्रीक लोकतन्त्र पार्टिका अध्यक्ष सुदन किराँतीले १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।
यसैबीच, काठमाडौँ मेडिकल कलेज (केएमसी) र ट्रमा सेन्टरले साम्बाको निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन्।
साम्बाले एन्फाले सहयोगको आश्वासन दिए पनि प्रक्रिया अघि नबढेको र शल्यक्रियाको समय घर्किंदै गएकाले बाध्य भएर सार्वजनिक रूपमा सहयोग माग्नुपरेको उल्लेख गरेकी थिइन्। यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने उपचारका लागि कतारस्थित क्लबलाई पत्राचार गरेको जनाएको छ।
राष्ट्रिय टोलीकी कप्तानले सार्वजनिक रूपमा सहयोग माग्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा सामाजिक सञ्जालमा एन्फाप्रति प्रश्न उठिरहेका छन्। तथापि, समर्थकहरूको साथ र सहयोगले साम्बाको उपचार प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।