नेप्सेका अनुसार ६ महिनामा २५ वटा कम्पनीको ३३ वटा कारोबारबाट १ करोड २६ लाख ९७ हजार ४ सय ८८ कित्ता बराबरको १ अर्ब ४७ करोड १९ लाख ७६ हजार १ सय ३४ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको हो । नेप्सेमा सूचीकृत नभएका कम्पनीहरु कारोबार हुने ओटीसी मार्केटमा चालु आवको पहिलो ६ महिनामा बीमा ब्रोकरदेखि शेयर ब्रोकर, होटल, क्यापिटल, स्टिल कम्पनी, हाइड्रोपावर कम्पनी र चर्चित वालेट इसेवा समेतको कारोबार भएको छ ।
अडार मल्टी इन्भेष्टमेन्ट कम्पनीको २ कारोबारमा १ लाख ५ हजार कित्ता, बुढानिलकण्ठ हेरिटेजको ३ कारोबारमा ४२ लाख ४२ हजार ९२३ कित्ता, गरज्याङ उपत्यका हाइड्रोपावरको २ कारोबारमा १ लाख ८५ हजार १ सय ५ कित्ता, होटल फरेष्ट इनको २ कारोबारमा १७ लाख ६० हजार कित्ता, मिल्कीवे शेयर ब्रोकर लिमिटेडको २ कारोबारमा १ लाख ७० हजार कित्ता, सर्वोत्तम स्टिल्सको तीन कारोबारमा १९ लाख २३ हजार ७४८ कित्ता शेयर कारोबार भएका छन् । बाँकी सबै कम्पनीको भने ६ महिनामा १ पटक मात्रै कारोबार भएको छ ।
ओटीसीमा कारोबार हुँदा एउटै कम्पनीको मूल्य पनि फरक फरक तय हुने गरेको छ । अदार मल्टी इन्भेष्टमेन्ट कम्पनीको पुस २८ गते नै भएको कारोबारमा १३२.४७ रुपैयाँ प्रति शेयरमा ३३ लाख ११ हजार ७५० रुपैयाँको शेयर कारोबार भएको छ भने अर्को ८० हजार कित्ता शेयरको कारोबार प्रति कित्ता ९१.०७ रुपैयााको दरले ७२ लाख ८५ हजार ८५० रुपैयाँको शेयर कारोबार भएको छ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडको तीन कारोबारमध्ये प्रति कित्ता ६३.१७ रुपैयाँमा १७ लाख ७३ हजार ४९७ कित्ता, ७५ रुपैयाँ प्रति कित्तामा २३ लाख १९ हजार ६७६ कित्ता र ८० रुपैयाँ प्रति कित्तामा ४९ हजार ७ सय ५० कित्ता शेयरको कारोबार भएको छ । गर्ज्याङ उपत्यका हाइड्रोपावर लिमिटेड १३० मा १ लाख ४१ हजार ७०५ कित्ता र ११२.५० रुपैयाँमा ४३ हजार ४ सय कित्ता शेयर कारोबार भएको छ । हालै आइपीओ निष्काशन भएर बाँडफाँट भएको होटल फरेष्ट इन लिमिटेडको शेयर कारोबार १ सय रुपैयाँमा २० हजार कित्ता र १२४.२९ रुपैयाँमा १७ लाख ४० हजार कित्ता शेयर कारोबार भएको छ । सर्वोत्तम स्टीलको तीन कारोबार भएकोमा १४०.६३ रुपैयाँमा ४ लाख ४४ हजार ६५८ कित्ता, १३० रुपैयाँमा ४ लाख ३२ हजार ४३२ कित्ता र १४०.९० रुपैयाँ प्रति शेयरमा ७ लाख ४६ हजार ६५८ कित्ता शेयरको कारोबार भएको छ ।
फेडरल रि इन्स्योरेन्स ब्रोकर लिमिटेडले प्रति कित्ता रू. १,०१० मा २५ हजार कत्तिा शेयर कारोबार गर्दै मूल्यका हिसाबले उच्चतम स्तर कायम गरेको छ। छिमेकी बजार व्यवस्था कम्पनी ४१२ रुपैयाँमा, टाइम फर्मासेटिकल्स ३६५ रुपैयाँ, सानिमा हाइड्रोपावर ३ सय रुपैयाँ, अनलाइन सेक्युरिटिज लिमिटेड २२६ रुपैयाँ, अल्फा क्यापिटल १८० रुपैयाँ, इसेवा लिमिटेड १७०.१८ रुपैयाँ, सोलार फार्म १७० रुपैयाँमा कारोबार भएको छ ।
क्रेता र बिक्रेताले मिलोमतोमै मूल्य तय गर्ने ओटीसीमा कारोबार भएको मूल्यले भने कानुनी मान्यता प्राप्त गर्ने गर्दछ । पुँजीगत लाभ कर (सीजीटी) तिर्नुपर्दा नेप्सेमा सूचीकृत नभएको कम्पनीले ओटीसीमा कारोबार भएको मूल्यलाई नै आधार बनाउने गरेका छन् ।