५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ निलम्बनमा, ‘उधारो’ मा शेयर किनबेच गराएको आरोप

Apr 07, 2026 07:18 AM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ लाई निलम्बन गरेको छ। विवादास्पद बिचौलिया दीपक भट्टलाई नियमविपरीत उधारोमा शेयर किनबेच गराएको र भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही गरेको आरोपमा बोर्डले यस्तो निर्णय गरेको हो ।

बोर्डका सञ्चालक आनन्दराज शर्माले सोमबारको बैठकले कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको पुष्टि गरे। शर्माले मेरो लगानीसँग भने, “हिजो बसेको बोर्ड बैठकले ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई अर्को निर्णय नहुन्जेलसम्मको लागि निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।”

सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानका क्रममा भृकुटी स्टकले गम्भीर वित्तीय विचलन गरेको भेटिएपछि बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कारबाहीका लागि पत्राचार गरेको थियो। विभागका अनुसार, दीपक भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतको शेयर खरिद गर्दा आफ्नो बैंक खाताबाट नभई अन्य विभिन्न व्यक्ति र खाताहरूबाट भुक्तानी गरेको पाइएको थियो।

धितोपत्र कारोबारको विद्यमान व्यवस्था अनुसार शेयर खरिद गर्नुअघि ब्रोकरले लगानीकर्ताबाट कम्तीमा २५ प्रतिशत पेस्की (मार्जिन) रकम लिनुपर्ने प्रावधान छ। तर, ५५ नम्बर ब्रोकरले उक्त नियम पालना नगरी भट्टलाई उधारोमा कारोबारको सुविधा दिएको र तेस्रो व्यक्तिको खाताबाट भुक्तानी स्वीकार गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम बढाएको विभागको निष्कर्ष छ।

बोर्डको यो निर्णयसँगै भृकुटी स्टकले अर्को आदेश नभएसम्मका लागि कुनै पनि शेयर कारोबार गर्न पाउने छैन। हाल काठमाडौँसहित देशका विभिन्न १० स्थानबाट सेवा प्रवाह गर्दै आएको यस कम्पनीका ग्राहकहरू यस निर्णयबाट प्रत्यक्ष प्रभावित हुने भएका छन्।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।