ब्युरोले स्मार्ट टेलिकम प्रा.लि. को सम्पत्ति लिलाम बिक्री र सो कम्पनीले घर–जग्गा धनीहरूलाई बुझाउन बाँकी रहेको घर बहाल तथा विद्युत महशुलसँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ।
विज्ञप्तिमा बैंकले कर्जा असुलीको प्रक्रिया बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ (दफा ५७) र सुरक्षित कारोबार ऐन, २०६३ को अधीनमा रही पूर्ण रूपमा कानुनी दायित्व अन्तर्गत गरिएको दाबी गरिएको छ। त्यस्तै, बैंकले मिति २०८२/०६/०३ मा स्मार्ट टेलिकमको सम्पत्ति लिलामीको सूचना प्रकाशित गरेको थियो, जसबाट कुल ४ अर्ब ६० करोड रुपैयाँ प्राप्त भएको र प्राप्त रकममध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरणको कर्जा सुविधा चुक्ता गर्न प्रयोग गरिएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। बाँकी ३८ करोड रुपैयाँ हाल बैंकको 'Earnest Money Auction Account' मा रहेको बैंकले जानकारी दिएको छ। यो रकम सम्बन्धित निकायबाट खाता रोक्का रहेका कारण र टेलिकमले बुझाउन बाँकी बहाल तथा विद्युत महशुल भुक्तानी गर्ने प्रयोजनका लागि राखिएको बैंकले जनाएको छ।
बैंकले अनुसन्धानका लागि माग गरिएका सम्पूर्ण कागजात र विवरणहरू समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस अनुसन्धान प्रक्रियाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित र शेयरधनीको विश्वासमा कुनै पनि नकारात्मक असर नपर्ने कुरामा बैंकले आफ्ना ग्राहक र सरोकारवालाहरूलाई पूर्ण रूपमा आश्वस्त पारेको छ।
