ब्राेकर निलम्बन प्रकरणः गल्ती ब्रोकरको, ग्राहकलाई झन्झट किन ?

Apr 10, 2026 06:00 PM merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (ब्रोकर नम्बर ५५) लाई निलम्बन गरेपछि ७९ हजारभन्दा बढी लगानीकर्ता मारमा परेका छन् ।

बिहीबारदेखि यस कम्पनीका ७९ हजार ७१७ जना ग्राहकले शेयर कारोबार गर्न पाएका छैनन् ।

वित्तीय अनुशासनहीनताका कारण बोर्डले भृकुटीलाई कारबाही गरेको हो । नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ अनुसार यस्तो निलम्बन अधिकतम ६ महिनासम्म हुनसक्ने व्यवस्था छ।

ब्रोकरको गल्ती, ग्राहकलाई झन्झट

आफ्नो कुनै गल्ती नभए पनि ब्रोकर कम्पनी निलम्बनमा पर्दा हजारौँ सर्वसाधारण लगानीकर्ताले मानसिक र प्राविधिक झन्झट व्यहोर्नुपरेको छ । बजारमा शेयर बेचेर पैसा चलाउनुपर्ने वा सस्तोमा शेयर उठाउनुपर्ने अवसरबाट यति ठूलो संख्याका लगानीकर्ता बन्चित भएका छन् । अब उनीहरूले नयाँ ब्रोकरमार्फत कारोबार सुरु गर्न पुनः केवाईसी (KYC) अपडेट गर्नेदेखि 'अनम्यापिङ' को झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने भएको छ ।

किन भयो निलम्बन?

धितोपत्र बोर्डका अनुसार भृकुटीले लगानीकर्तालाई दिनुपर्ने करिब ५ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको दायित्व भुक्तानी गर्न बाँकी देखिएको छ। साथै, नियमविपरित २५ प्रतिशत अग्रिम रकम (कोल्याट्रल) नलिई शेयर खरिदको सुविधा दिएको र राफसाफमा गम्भीर लापरवाही गरेको बोर्डको ठहर छ। लगानीकर्ताको रकम जोखिममा पर्न सक्ने देखिएपछि बोर्डले तत्कालका लागि यसको अनुमति पत्र निलम्बन गरेको हो।

टिएमएस (TMS) खाता कसरी सार्ने ?

भृकुटी स्टक ब्रोकिङ निलम्बनमा परेपछि धेरै लगानीकर्ता झुक्किएका छन्। तर, डराउनुपर्ने अवस्था भने छैन । तपाईंको शेयर सुरक्षित छ, केवल कारोबार गर्ने माध्यम (TMS) मात्र परिवर्तन गर्नुपर्ने हुन्छ ।

१. डिम्याट खाता सार्नु पर्दैन: तपाईंको शेयर राखिएको डिम्याट खाता (Demat Account) भृकुटीमै भए पनि त्यसलाई सार्न आवश्यक छैन । केवल 'कारोबार खाता' (TMS) सारे पुग्छ ।

२. अनम्याप (Unmap) प्रक्रिया: भृकुटीले आफ्ना ग्राहकका लागि 'अनम्याप' गर्ने सुविधा उपलब्ध गराएको छ। यसका लागि तपाईंले भृकुटी स्टक ब्रोकिङको कार्यालयमा गएर 'अनम्याप फारम' भर्नुपर्ने हुन्छ ।

३. नयाँ ब्रोकर छनोट: अनम्याप भइसकेपछि तपाईंले आफूलाई पायक पर्ने अर्को कुनै पनि ब्रोकर कम्पनीमा गएर नयाँ खाता खोल्न सक्नुहुन्छ ।

४. पुनः केवाईसी: नयाँ ब्रोकरमा खाता खोल्नका लागि तपाईंले पुनः केवाईसी (KYC) लगायतका सबै आवश्यक प्रक्रिया र कागजातहरू बुझाउनुपर्ने हुन्छ।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।