मार्जिन कारोबारमा लगानीकर्ताले के कुरामा ध्यान दिने?

Apr 13, 2026 06:22 AM Merolagani



शेयर ब्रोकरहरूले आगामी बैशाखदेखि लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तयारीमा जुटेका छन्। मार्जिन कारोबारसँग सम्बन्धित सम्पूर्ण कानुनी प्रक्रियाहरू पूरा भइसकेको ब्रोकरहरुले बताएका छन्।

स्टक ब्रोकर एशोसिएसन अफ नेपालले समेत विज्ञप्ति जारी गर्दै बैशाखदेखि कारोबार सुरु गर्ने जानकारी गराई सकेको छ ।  

नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गर्दै गत फागुनदेखि नै कार्यान्वयनमा ल्याए पनि प्राविधिक कठिनाइको कारण लगानीकर्ताले सो सुविधा पाउन ढिलाे भएको हो । जसमा हाल सफ्टवेयर (टीएमएस) परिमार्जनलगायतका केही प्राविधिक विषयहरू अन्तिम चरणमा पुगेको ब्रोकरहरुले बताएका छन् । यो सुविधा लागु भएपछि योग्य ब्रोकरहरूबाट लगानीकर्ताले शेयर खरिद गर्न ऋण प्राप्त गर्ने छन्।

मार्जिन कारोबार सुविधा अन्तर्गत बजारमा सूचीकृत सबै कम्पनीको शेयर खरिदबिक्री गर्न पाइँदैन। धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित र पारदर्शी बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकर कम्पनीहरूले कार्यविधि तयार पारिसकेका छन्।

मार्जिन ल्यान्डिङले शेयर बजारलाई चलायमान गराउने अपेक्षा गरिए पनि ब्रोकरहरूसँग पूँजीको सीमितता भने मुख्य चुनौतीका रूपमा देखिएको छ। ब्रोकरहरूले आफ्नो स्वपूँजीले मात्र मार्जिन ल्यान्डिङ दिँदा बजारमा त्यसको प्रभावकारिता न्यून हुने भिजन सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ३४ का कार्यकारी अध्यक्ष राजकुमार तिमल्सिनाले बताएका छन् ।

‘ठुलो भोल्युममा मार्जिन दिन ब्रोकरहरूलाई बैंक तथा वित्तीय संस्थाबाट फन्ड आवश्यक पर्छ। तर हाल नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरूले आफ्नो कोर क्यापिटलको २५ प्रतिशतभन्दा बढी शेयर धितो कर्जा दिन नपाउने व्यवस्थाले समस्या निम्त्याउन सक्छ,' तिमल्सिनाले भने ।

फण्डको समस्या समाधानका लागि रिसिभेबल फाइनान्सिङ मोडलको सम्बन्धीत निकायमा प्रस्ताव गरिएको उनले बताए । लघुवित्तहरूले बैंकबाट ऋण लिएर तल्लो तहमा लगानी गरेजस्तै, ब्रोकरले पनि ग्राहकलाई दिएको मार्जिन कर्जाको माग देखाएर ऋण लिन पाउनुपर्ने व्यवस्था हुनु पर्ने तिमल्सिनाको जोड छ । बैंकले ब्रोकरलाई दिने यस्तो कर्जालाई सामान्य शेयर कर्जाभन्दा फरक प्रकृतिको कर्जाका रूपमा नेपाल राष्ट्र बैंकले व्याख्या गरिदिनुपर्नेमा समेत उनले जोड दिएका छन् ।

 

मार्जिन कारोबार लिभरेजमा गरिने हुँदा यसमा उच्च जोखिम रहन्छ। मार्जिन कारोबार नियम अनुसार लगानीकर्ताले ३० प्रतिशत आफ्नो पैसा हालेर ७० प्रतिशतसम्म मार्जिन कर्जा लिन सक्छन्। तर, बजार प्रतिकूल भएको अवस्थामा यसले गम्भीर नोक्सानी निम्त्याउन सक्नेमा जानकारहरुले सुझाएका छन। मार्जिन कर्जामार्फत खरिद गरिएको शेयरको मूल्य बजारमा १० प्रतिशत मात्र घट्दा पनि लगानीकर्ताले नोक्सानीमै शेयर बिक्री गर्नुपर्ने (फोर्स सेल) वा मार्जिन कलको सामना गर्नुपर्ने जोखिम रहन्छ। यस्तो प्रकृतिको जोखिम कम गर्न लगानीकर्ताहरूले ५० प्रतिशत आफ्नो पूँजी र ५० प्रतिशत मात्र ऋणबाट कारोबार गर्दा तुलनात्मक रूपमा सुरक्षित हुने जानकारहरूको बुझाइ छ। मार्जिन ल्यान्डिङको नियम, कर्जाको अवधि र लाग्ने सेवा शुल्क सबै ब्रोकर कम्पनीमा एउटै हुने छैन। ब्रोकरहरूले आफ्नै कार्यविधि बनाएर लगानीकर्तालाई बेग्लाबेग्लै सुविधा र सर्तहरू लागू गर्न सक्ने छन्।

समग्रमा मार्जिन ल्यान्डिङले बजारमा सकारात्मक प्रभाव पार्ने भएतापनि यसको पूर्ण र सफल कार्यान्वयनका लागि केही सर्तहरू पूरा हुनुपर्ने ब्रोकरहरूको भनाइ छ। बैंकको सस्तो ब्याजदर, राष्ट्र बैंकको लचिलो नीति, ब्रोकरको फन्ड म्यानेजमेन्ट क्षमता र लगानीकर्ताको जोखिम बहन गर्ने क्षमता नै यसको सफलताका मुख्य आधार हुने विश्वास लिइएको छ।

के हो मार्जिन ट्रेडिङ?

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तासँग भएको पूँजी अर्थात मार्जिन राखेर बाँकी रकम ब्रोकरबाट ऋण लिएर शेयर कारोबार गर्ने प्रक्रिया नै मार्जिन ट्रेडिङ हो। सामान्य रुपमा मार्जिन ल्याडिङलाई फाइनान्सियल लिभरेज लिनु भनेर बुझिन्छ ।

उदाहरणका लागि, दोस्रो बजारमा लगानीकर्ताले कुनै कम्पनीको एक लाख रुपैयाँ बराबरको शेयर किन्न चाहनुहुन्छ। तर सो लगानीकर्तासँग जम्मा ३० हजार रुपैयाँ मात्र छ। लगानीकर्तासँग भएको सो ३० हजार रुपैयाँलाई ब्रोकरकहाँ मार्जिन राखेर बाँकी ७० हजार रुपैयाँ ब्रोकरबाटै ऋण लिएर एक लाखको शेयर किन्न पाउने सुविधा हो । यसरी लगानीकर्तासँग भएको पूँजीभन्दा बढीको ब्रोकर बाट ऋण लिएर शेयर कारोबार गर्न पाउने व्यवस्था नै मार्जिन ट्रेडिङको हो।

मार्जिन सुविधा प्राप्त गर्ने प्रक्रियाः

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशिका मार्जिन ल्यान्डिङ सुविधा प्राप्त गर्नका लागि निश्चित सर्त र प्रक्रियाहरू समेत उल्लेख गरेको छ। जसमा लगानीकर्ताले सबै भन्दा पहिले योग्य ब्रोकरको छनोट गर्नुपर्छ । लगानीकर्ताले ब्रोकरकोमार्जिन कारोबार सम्बन्धी कार्यविधि अनुसारको सम्झौता गर्नुपर्ने हुन्छ । निर्देशिकाको दफा १० अनुसार लगानीकर्ताले, मार्जिन ट्रेडिङ खाता र मार्जिन डिम्याट खाता छुट्टै खोल्नुपर्छ। यस्तो खातामा मार्जिन कारोबार गर्न र सोबाट किनिएका शेयरमात्र राख्न मात्र प्रयोग हुने छ ।

योग्य कम्पनीको शेयरमा मात्र कारोबार गर्न सकिनेः

लगानीकर्ताले मार्जिन सुविधा प्रयोग गरेर नेप्सेमा सूचीकृत भएका सबै कम्पनीको शेयर खरिद गर्न सक्दैनन । निर्देशिकाको दफा ४ अनुसार निम्न सर्त पूरा गरेका कम्पनीको शेयर मात्र मार्जिन खाताबाट खरिदबिक्रि गर्न सकिन्छ । जसमा सूचिकृत कम्पनीको कम्तिमा २५ लाख कित्ता सर्वसाधारण शेयर बजारमा भएको हुनु पर्ने व्यवस्था गरिएको छ। लक–इन भएको शेयरको गणना हुदैन । कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको हुनुपर्छ । त्यसैगरी, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको र आईपीओ सूचीकृत भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने ब्यवस्था गरिएको छ।

हाल नेप्सेले मार्जिन कारोबारका लागि सूचिकृत मध्ये १२३ कम्पनीको शेयर कारोबारमा मात्रै मार्जिन लेन्डिङको सुविधा पाउने भएका छन । जस मध्येमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स, १७ माइक्रोफाइनान्स, १२ जीवन बीमा, ११ निर्जीवन बीमा, १ व्यापार कम्पनी, ६ लगानी समूहका कम्पनी, २८ हाइड्रोपावर कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३ होटल र २ वटा अन्य समूहका कम्पनी रहेका छन् । मार्जिन कारोबारको लागि योग्य कम्पनीहरुको सूची नेप्सेले समय समयमा परिमार्जन गर्नेछ ।

मार्जिन सुविधाको रकम र सीमा ब्रोकर कम्पनीले सेवा शुल्क र ब्याजदर, प्रारम्भिक मार्जिन,मार्जिन कल सम्बन्धी सर्तहरूको सम्वन्धमा नीतिगत व्यवस्था गरिएको छ । त्यसैगरी, तोकिएको मार्जिन कायम नभएमा ब्रोकरले शेयर बिक्री गर्न सक्ने नीतिगत व्यवस्था गरिएको छ।

ब्रोकरले लगानीकर्तालाई दिने मार्जिन सुविधाको समयावधि बढीमा एक वर्षको हुने निर्देशिकामा व्यवस्था गरिएको छ । यद्यपि यसमा ब्रोकर कम्पनीहरुको कार्यविधिमा गरिएको व्यवस्था अनुसार पनि निर्धाण हुने छ । यसलाई ब्रोकरको कार्यविधि अनुसार दुवै पक्षको सहमतिमा यसलाई नवीकरण गर्न सकिन्छ । साथै, ब्रोकरले आफ्नो कुल मार्जिन दिने क्षमतामध्ये एक जना लगानीकर्ता वा एकाघरका सदस्यलाई १० प्रतिशतभन्दा बढी रकम मार्जिन सुविधाको रूपमा दिन पाउँदैनन् । यस्ता ब्रोकरले आफ्नो नेटवर्थको अधिकतम ५ गुणासम्म मात्र लगानीकर्तालाई मार्जिन सुविधाको रुपमा प्रवाह गर्न सक्नेछन ।

मार्जिन ट्रेडिङका फाइदाहरूः

दोस्रो बजारका लगानीकर्ताहरको लागि मार्जिन सुविधा लाभदायक रहेको बुझाई छ । बैंकसम्म पँहुच नपुग्ने लगानीकर्ताहरको लागि मार्जिन ल्याडिङ मार्फत कर्जा लिएर कारोबार गर्न झनै सहज हुने भएको हो । थोरै पुँजी भएका लगानीकर्ताले पनि ठुलो भोल्युममा शेयर खरिद गर्न सक्छन्। बजार बढ्ने निश्चित जस्तै भएको बेला यो सुविधा प्रयोग गरी छोटो समयमै राम्रो नाफा कमाउन सकिन्छ । लगानीकर्ताले सम्पूर्ण पुँजी एउटै कम्पनीको शेयरमा लक गर्नुको सट्टा मार्जिन लिएर विभिन्न अवसरहरूमा लगानी विविधीकरण गर्न सक्ने भएको हो । साथै, मार्जिन कर्जाले बजारमा बजारमा तरलता वृद्धि गराउने अनुमान गरिएको छ । यस्तो सुविधाले शेयर बजारमा खरिदबिक्रीको चाप बढाउने जनकारहरुको बुझाई छ ।

मार्जिन ट्रेडिङका जोखिमहरूः

लिभरेज रिस्कमा कारोबार गर्दा लगानीकर्ताहरु सचेत हुनुपर्ने जानकारहरुको बुझाईछ । मार्जिन ट्रेडिङ दुई धारे तरवार जस्तै हो। बजार बढ्दा नाफा जसरी गुणात्मक रूपमा बढ्छ। बजार घट्दा घाटा पनि सोही अनुपातमा नोक्सानी हुने सम्भावना हुने जनकारहरुको बुझाई छ ।

जब बजार घट्छ मार्जिन कल र फोर्स सेलको डर उत्पन्न हुन्छ । जसले बजार घट्दै जाँदा ब्रोकरलाई थप पैसा बुझाउन नसके ब्रोकरले घाटामै शेयर बेचिदिन थप नोक्सानी हुने जोखिम हुन्छ । साथै, शेयरको मूल्य नबढे ब्रोकरबाट लिएको ऋणको ब्याज र सेवा शुल्क भने तिरिरहनु पर्ने हुन्छ । दोस्रो बजारमा मार्जिन ट्रेडिङ मार्फत लगानी गर्न लगानीकर्ताहरु थप सचेत भएर लगानी गर्नपर्नेमा जानकारहरुले सुझाउछन । शेयर बजारको राम्रो अनुभव भएका र बजारको मनोविज्ञान बुझेर कारोबार गर्ने लगानीकर्ताहरुको लागि मार्जिन ट्रेडिङ धेरै लाभ दिने जानकारहरुको भनाईछ ।