यस रेटिङको अर्थ कम्पनीले आफ्नो वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ। कम्पनीले लमजुङ जिल्लामा २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। पछिल्लो समय कम्पनीको नाफा र नगद प्रवाहमा देखिएको सुधारका कारण रेटिङमा वृद्धि भएकाे केयर रेटिङ्सले जनाएकाे छ।
केयर रेटिङ्स नेपालले निम्न कुराहरुलाई कम्पनीका सबल पक्षको रुपमा उल्लेख गरेको छः
अनुभवी प्रवर्द्धक र व्यवस्थापनः कम्पनीको नेतृत्व ३० वर्षभन्दा बढी अनुभव भएका गुरु प्रसाद ढकाल र अम्बिका प्रसाद ढकाल जस्ता विज्ञहरूले गरिरहेका छन्। साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड यसको मुख्य लगानीकर्ता हो।
वित्तीय कार्यसम्पादनमा सुधारः आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी ७४ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५१ करोड ६० लाख रुपैयाँ मात्र थियो। यस्तै, ऋणको ब्याज तिर्न सक्ने क्षमता पनि ०.९६ गुणाबाट बढेर १.९३ गुणा पुगेको छ।
विद्युत खरिद सम्झौताको सुनिश्चितताः नेपाल विद्युत प्राधिकरणसँग ३० वर्षका लागि विद्युत खरिद सम्झौता भएको छ, जसले गर्दा उत्पादित बिजुली बिक्री हुनेमा सुनिश्चितता छ।
हिउँदमा बढी ऊर्जा उत्पादनः सुक्खायाममा पनि यो आयोजनाले सोचेभन्दा बढी ऊर्जा उत्पादन गर्न सकेकाले आगामी दिनमा आम्दानी अझ बढ्ने देखिन्छ।
सरकारी सहुलियतः सरकारले जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राख्दै आयकरमा १० वर्षसम्म शतप्रतिशत र त्यसपछिको ५ वर्ष ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ, जसको लाभ यस कम्पनीले पनि पाउनेछ।
त्यस्तै, केयर रेटिङ्सले निम्न कुराहरुलाई कम्पनीका चुनौती तथा जोखिमको रुपमा उल्लेख गरेको छः
प्रसारण लाइनको समस्याः हाल यो आयोजना विद्युत प्राधिकरणको ‘कन्टिन्जेन्सी प्लान’ अन्तर्गत सञ्चालन भइरहेको छ। जसको अर्थ, प्राधिकरणले आवश्यक ठानेको बेला मात्र बिजुली लिने मोडालिटीमा छ, जसले गर्दा सोचे जति आम्दानी नहुन सक्छ।
हिउँदमा पानीको बहाव घट्ने जोखिमः यो ‘रन–अफ–द–रिभर’ (नदीको बहावमा आधारित) आयोजना भएकाले हिउँदमा नदीमा पानी कम हुँदा बिजुली उत्पादन घट्ने प्राकृतिक जोखिम रहन्छ।
ब्याजदरमा हुने उतारचढावः कम्पनीले बैंकबाट लिएको ऋणको ब्याजदर परिवर्तनशील छ। नेपालका बैंकहरूको आधार दरमा हुने परिवर्तनले कम्पनीको खर्च बढाउन सक्छ।
प्राकृतिक प्रकोपको डरः नेपालका जलविद्युत आयोजनाहरू भौगोलिक रूपमा चुनौतीपूर्ण स्थानमा हुने हुनाले बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिले आयोजनाको भौतिक संरचनामा क्षति पुऱ्याउन सक्ने जोखिम सधैं रहन्छ।
समग्रमा, हिमालयन पावर पार्टनरको वित्तीय अवस्था सकारात्मक दिशामा अघि बढिरहेको देखिन्छ। यद्यपि, प्रसारण लाइनको पूर्ण उपलब्धता र ब्याजदरको स्थिरता यस कम्पनीको भविष्यका लागि निर्णायक हुनेछन्।
कम्पनीले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले प्राइम कमर्सियल बैंकको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट लिएको सहवित्तीयकरण ऋण रकम भुक्तानी गर्न प्रयोग गर्नेछ।