तीव्र उतारचढावका बीच केही दिन यता नेप्से सूचक पुनः ओरालो लाग्ने क्रम सुरु भएसँगै बजारमा कारोबार रकम (टर्न ओभर) मा समेत ७५ प्रतिशतको भारी गिरावट देखिएको छ।
केही समय अघिसम्म दैनिक २० देखि २१ अर्ब रुपैयाँसम्मको कारोबार हुँदै आएको बजार अहिले सुस्ताएर ५ अर्बको हाराहारीमा सीमित हुन थालेको छ। तीव्र उतारचढावका बेला पनि १० अर्बभन्दा तल नझरेको कारोबार रकम अहिले स्वाट्टै घट्नुले लगानीकर्तामा चरम निराशा र त्रास उत्पन्न गराएको छ। नेप्सेको पछिल्लो चार्टअनुसार सूचकमा रातो मैनबत्ती (Red Candle) हरूको बाहुल्यता देखिनु र भोल्युम पनि सुक्दै जानुले बजार ‘बियरिस’ बाटोतर्फ मोडिन थालेको संकेत गर्छ।
बजारमा एकाएक किन मन्दी आयो ? भन्ने प्रश्नमा नेपालकै सबैभन्दा धेरै शेयर कारोबार गराउने कम्पनी नासा सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत (CEO) मदन पौडेल बजारमा भइरहेको प्रशासनिक कडाइलाई मुख्य कारण मान्छन्। पौडेल भन्छन्, 'शेयर कारोबारीलाई लक्षित गरी गरिएको पछिल्लो धरपकडले ठूलादेखि साना सबै लगानीकर्ता प्रभावित हुन पुगेका छन्। राज्यको सक्रियता र पछिल्ला घटनाक्रमले लगानीकर्ता मनोवैज्ञानिक रूपमा त्रसित भएका कारण कारोबार रकम स्वाट्टै घटेको हो।'
बजारमा देखिएको यो त्रासको मुख्य जड सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पछिल्लो कदम हो। विभागले शेयर बजारका विवादास्पद खेलाडी दीपक भट्टलाई पक्राउ गरेपछि बजारमा तरङ्ग पैदा भयो। उनीसँगै शेयर बजारका अर्का ठूला खेलाडी सुलभ अग्रवाल समेत अनुसन्धानको घेरामा परेपछि ठूला लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्।
यति मात्र होइन, नेपाल धितोपत्र बोर्ड (SEBON) ले गरेका दुई वटा प्रारम्भिक अनुसन्धान प्रतिवेदनहरू सञ्चारमाध्यममा चुहिएपछि माहोल थप बिग्रिएको छ। ती प्रतिवेदनहरूमा नेपालका नाम चलेका र प्रतिष्ठित व्यवसायीहरूको समेत शेयर बजारमा अवैध संलग्नता रहेको खुलासा भएपछि व्यावसायिक घरानाहरू डराएका छन्।
बजार घटाउन अर्को प्राविधिक कारण धितोपत्र बोर्डको पछिल्लो एक्सन बनेको छ। बोर्डले उधारोमा शेयर कारोबार गराएको अभियोगमा भृकुटी स्टक ब्रोकर कम्पनीको कारोबार रोक्का गरिदिएपछि अन्य ब्रोकरहरू पनि रक्षात्मक बनेका छन्। यसअघि ब्रोकरहरूले आफ्ना नियमित ग्राहकलाई विश्वासका आधारमा उधारोमा कारोबार गर्न दिने (Limit दिने) चलन थियो। तर, भृकुटीमाथिको कारबाहीपछि ब्रोकरहरूले उधारो कारोबारमा कडा प्रतिबन्ध लगाएका छन्। जसका कारण बजारमा तुरुन्तै आउने पैसा (Liquidity) घटेको छ र त्यसको प्रत्यक्ष असर कारोबार रकममा देखिएको छ।
एकपछि अर्को गर्दै ठूला लगानीकर्ता पक्राउ पर्नु, गोप्य प्रतिवेदनहरू सार्वजनिक हुनु र ब्रोकरहरूमाथि नियामकको डण्डा बर्सिनुले आम लगानीकर्तामा ‘अब बजार के होला?’ भन्ने संशय पैदा भएको छ। साना लगानीकर्ताहरू ठूला खेलाडीको अभावमा बजार अझै घट्ने डरले ‘प्यानिक सेल’ गरिरहेका छन् भने ठूला लगानीकर्ताहरू आफ्ना स्रोत र संयन्त्रमाथि हुने छानबिनको डरले निष्क्रिय बसेका छन्।
नेप्सेको चार्टले पनि बजारले बलियो टेवा (Support) पाउन संघर्ष गरिरहेको देखाउँछ। यदि राज्यको यो ‘अप्रेसन’ र नियामकको कडाइले लगानीकर्ताको मनोबल थप खस्काएमा बजारमा अझै केही समय मन्दी छाउने निश्चित देखिन्छ।