यस नवीन सुविधाको सुरुवातसँगै अब लगानीकर्ताहरू नियमित कारोबार समयको सीमाभित्र मात्र बाँधिनु पर्ने छैन। नासाका ग्राहकहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित कारोबार समयबाहेक पनि शेयर किनबेचका लागि अर्डर राख्न सक्नेछन्।

कति बेला राख्न सकिन्छ अर्डर ?
नेपालमा शेयर बजारको नियमित कारोबार बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म हुने गर्दछ। नासा सेक्युरिटिजका ग्राहकले अब नियमित बजार बन्द भएपछि अर्थात् दिउँसो ३:०० बजेदेखि भोलिपल्ट बिहान प्रि-ओपन सेसन सुरु हुनुभन्दा अघि १०:३० बजेसम्म 'आफ्टर मार्केट अर्डर' राख्न पाउनेछन्। यसरी राखिएका अर्डरहरू बजार खुल्ने बित्तिकै प्रणालीले स्वचालित रूपमा कार्यान्वयनमा लैजानेछ।
मूल्य सीमा र अर्डरको वैधता
लगानीकर्ताले यो सुविधा अन्तर्गत अर्डर राख्दा उक्त दिनको अन्तिम कारोबार मूल्य (Closing Price) को १५ प्रतिशत तल वा माथिको सीमा भित्र बसेर अर्डर राख्नुपर्नेछ। यदि उक्त अर्डर भोलिपल्टको बजारमा म्याचिङ (कार्यान्वयन) भएन भने त्यो स्वतः खारेज हुनेछ। अर्को दिनको कारोबारका लागि लगानीकर्ताले पुनः नयाँ अर्डर राख्नुपर्ने कम्पनीले जनाएको छ।
के हो “Price-Time Priority” र यसले कसरी काम गर्छ?
आफ्टर मार्केट अर्डरहरू 'Price-Time Priority' (मूल्य र समयको प्राथमिकता) को आधारमा कार्यान्वयन हुनेछन्। यसको अर्थ बजार खुल्ने बित्तिकै सबैभन्दा राम्रो मूल्य प्रस्ताव गर्ने र त्यसपछि सबैभन्दा पहिला अर्डर गर्ने ग्राहकलाई प्राथमिकता दिइनेछ।
उदाहरणका लागि:
मानौँ, कुनै कम्पनीको सेयर मूल्य ५०० रुपैयाँमा बन्द भएको छ।
लगानीकर्ता 'क' ले दिउँसो ४:०० बजे ५१० रुपैयाँमा शेयर किन्ने अर्डर राख्यो।
लगानीकर्ता 'ख' ले बेलुका ६:०० बजे ५२० रुपैयाँमा शेयर किन्ने अर्डर राख्यो।
लगानीकर्ता 'ग' ले राति ८:०० बजे ५१० रुपैयाँमा सेयर किन्ने अर्डर राख्यो।
यहाँ, भोलिपल्ट बजार खुल्दा सबैभन्दा पहिले लगानीकर्ता 'ख' को अर्डर कार्यान्वयन हुनेछ। किनभने उसले सबैभन्दा बढी मूल्य (Best Price) प्रस्ताव गरेको छ। त्यसपछि लगानीकर्ता 'क' को पालो आउनेछ। किनभने 'क' र 'ग' को मूल्य एउटै भए पनि 'क' ले 'ग' भन्दा अगाडि अर्डर राखेको थियो।
को-को लाभान्वित हुनेछन् ?
यो सुविधा विशेष गरी कार्यालय समयमा व्यस्त रहने पेसाकर्मी, व्यवसायी र विदेशमा रहेका नेपालीहरूका लागि निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। फरक 'टाइम जोन' मा रहेका कारण नेपालको बजार समयमा समय मिलाउन नसक्ने प्रवासी नेपालीहरूले अब आफ्नो अनुकूल समयमा शेयर किनबेचको अर्डर राख्न सक्नेछन्।
नेप्सेले धिताेपत्र काेराेवार बिनियमावली २०८२ संशाेधन गरेर ०८३ बैशाख ८ गते लागू भए पछि नासाले याे सेवा शुरू गरेकाे हाे । 'हामी आफ्ना ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै निरन्तर नवीन सेवा र सुविधा विकास गर्दै आएका छौँ। यो सुविधा ग्राहकहरूलाई थप लचकता र सहजता प्रदान गर्ने उद्देश्यले ल्याइएको हो। जसले समयको सीमाका कारण कुनै पनि लगानी अवसर गुम्न नदिने सुनिश्चितता गर्नेछ', नासा सेक्युरिटिजका अध्यक्ष मदन पौडेलले भने।
हाल यो सेवा नासा एक्सको वेब संस्करणमा मात्र उपलब्ध छ भने निकट भविष्यमा यसलाई कम्पनीको मोबाइल एप्लिकेसनमा समेत विस्तार गर्ने योजना रहेको छ। प्रविधि र नवप्रवर्तन मार्फत ग्राहकलाई केन्द्रमा राखेर सेवा प्रदान गर्न आफूहरू सधैँ प्रतिबद्ध रहेको नासा सेक्युरिटिजले जनाएको छ।