रिक्त रहेका यी निकायमा नेतृत्व चयन गर्ने क्रममा यतिबेला सरकार लागेको छ। शुरुवात धितोपत्र बाेर्डबाट हुँदैछ । सरकारले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अगाडि बढाउँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति समेत गठन गरेको छ । समितिले बाेर्ड अध्यक्षका लागि सात दिने म्याद दिएर दरखास्त आह्वान गरेकाे छ ।
बजारको नियमन,विकास र विस्तारमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने यी निकायहरूको नेतृत्व चयन प्रक्रियामा विगतदेखि नै चरम अपारदर्शिता र राजनीतिक भागबण्डा हावी हुने गरेका थिए । योग्यता र क्षमताभन्दा पनि शक्ति केन्द्रको दवाव र आर्थिक चलखेलमा नियुक्ति हुँदा बजारले ठूलो क्षति व्यहोर्नु परेको छ । सोही कारण यी निकायमा नियुक्ति पाएको नेतृत्व सधै विवादमा रहने गरेको थियाे । पूँजी बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने यी निकायमा हुने अदूरदर्शिता र स्वार्थ बाझिने निर्णयहरूका कारण लगानीकर्ताले ठूलो क्षति व्यहोर्नु परेको छ।
विगतमा पूँजी बजारसँग सरोकार राख्ने निकायहरुलाई पहुँच वालाहरूले प्रयाेग गर्ने गरेकाे शेयर बजारका जानकार तथा लगानीकर्ता केशव कोइरालाले बताए । ‘नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डमा विगतमा स्वार्थ समूह (भेस्टेड इन्ट्रेस्ट ग्रुप) आएर लुट्ने काम मात्रै भयो । सोही कारण अहिले पूँजी बजारको विकास हुन सकेको छैन’ कोइरालाले मेरो लगानीसँग भने।
पछिल्लो समय बजार प्रभावित हुनुको प्रमुख कारण पनि स्वार्थ समूह नै भएको दाबी उनको छ । पहुँच र पैसाको भरमा आउने नेतृत्वले आम लगानीकर्ताको हित गर्न नसक्ने भन्दै उनी अब त्यस्तो प्रवृत्ति दोहोरिन नहुने बताउँछन।
सरकारले अहिले सुशासन कायम गर्नेतर्फ आफ्नो कदम अगाडि बढाइरहेको बेला नियामक निकायको नेतृत्वले पनि त्यही गति (स्पीड) समात्न सक्ने व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा कोइरालाको जोड छ । ‘स्वार्थ समूहको छायाँबाट मुक्त गर्दै सुशासन हाँक्ने नेतृत्वको पर्खाइमा छाैं। सरकारले यी निकायहरूमा नेतृत्व छनोट गर्दा विचौलियाको प्रभावबाट मुक्त व्यक्तिको चयन गर्नुपर्छ, कोइरालाले भने ।
कस्तो हुनुपर्छ अबको नेतृत्व ?
मुलुकको अर्थतन्त्र सुस्त अवस्थामा छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता थुप्रिएको छ भने ब्याजदर निरन्तर घट्दो अवस्थामा छ । सस्तो ब्याजदरमा समेत कर्जाको माग भएको छैन। यस्तो अवस्थामा पूँजी निर्माण र औद्योगिक लगानीको वातावरण तयार गर्न शेयर बजार चलायमान हुनुपर्छ । अर्थतन्त्रमा शेयर बजारले पुर्याउने योगदानलाई प्राथमिकता दिदै अबको नियुक्ति विशुद्ध मेरिटोक्रेसीमा आधारित हुनुपर्ने जानकारहरुको बुझाई छ।
पूँजी बजारसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने यि निकायमा पूँजी बजारको गहिरो प्राविधिक ज्ञान भएको, वित्तीय बजारका नयाँ औजारहरू (इन्स्टुमेन्ट) बुझेको र अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा भित्राउन सक्ने दूरदर्शी हुनुपर्छ,जसले राजनीतिक दबाव वा कर्पोरेट स्वार्थ भन्दा माथि उठेर पूँजी बजारको महत्वलाई बुझेको हुनुपर्ने कोइरालाको भनाई छ ।
अबको नेतृत्वले नीतिगत स्थायित्व र बजारका लगानीकर्ताका संरक्षणमा जोड दिने खालको हुनुपर्ने लगानीकर्ताहरुको जोड छ । नियामक निकायहरुले ल्याउने नीतिगत व्यवस्थाकै कारण प्रभावित र अस्थिर हुने गरेको छ । जसकारण लगानीकर्ताको मनोबल गिर्ने गरेकाे छ।
नेप्सेमा अहिले इक्विटी को मात्रै कारोबार हुने गरेको छ । जसले गर्दा लगानीकर्ताहरुले पूँजी बजारमा लगानीको विकल्प कम भएको बताउने गरेका छन। बजारमा नयाँ वित्तीय औजारहरू थप्नु पर्नेछ । अबको बजारलाई परिपक्व बनाउन इन्ट्राडे ट्रेडिङ,सर्ट सेलिङ, डेरिभेटिभ्स, इन्डेक्स फन्ड र अक्सन मार्केट जस्ता औजारहरू तत्काल सञ्चालनमा ल्याउनु पर्नेमा लगानीकर्ताहरुले माग राख्दै आएका छन।
त्यसैगरी पूँजी बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा परिभाषित गर्ने गरिएकाेमा पनि हाल नेप्सेमा सूचीकृत कम्पनीहरूले मात्र अर्थतन्त्रको वास्तविक आकार प्रतिविम्बित गर्न सकेको छैनन् । उत्पादनमूलक कम्पनीहरूलाई पूँजी बजारमा भित्र्याउन विशेष सहुलियत र पारदर्शी नीतिको व्यवस्था गर्नुपर्ने देखिन्छ।
साथै, बजारलाई पूर्ण प्रविधिमैत्री र प्रणालीको स्तरोन्नतिमा बजारसँग सराेकार राख्ने निकाय जस्तै बोर्ड नेप्से र सीडी एससीले जोड दिनु पर्छ। बजारको आकार बढ्दै जाँदा प्रणालीमा आउने प्राविधिक गडबडीले लगानीकर्ताले हैरानी खेप्नु परेको छ। सीडीएससी र नेप्सेको प्रणालीलाई विश्वस्तरीय र पूर्ण स्वचालित बनाउनु पर्नेमा लगानीकर्ताको बुझाई छ ।
त्यसैले बजारको अवस्था र संवेदनशीलता बुझेर सरकारले पूँजी बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने निकायको नेतृत्व चयनमा सही पात्र छनाैट गर्नुपर्छ । सरकारले विगतका गल्तीहरूबाट पाठ सिक्दै पारदर्शी प्रक्रिया मार्फत योग्य,निडर र सुशासनप्रति प्रतिबद्ध नेतृत्वलाई नियामक निकायको जिम्मेवारी सुम्पनु पर्नेमा लगानीकर्ताहरुले जोड दिएका छन ।