टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

May 06, 2026 10:10 AM Merolagani



टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख २३ गते), बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशतले हुन आउने ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँबराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र ३ लाख ३ हजार ६७ कित्ता साधारण शयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ५१ हजार ५३३ कित्ता शेयर सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता शेयर कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले आज (बैशाख २३ गते) देखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि जेठ ६ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार २ लाख ५१ हजार ५४५ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ५ कित्ता शेष रहन्छ जुन सोही लगानीकर्ताहरुमाझ वितरण गरिनेछ। यस अनुसार सो थप १ कित्ता शेयर प्राप्त गर्न लगानीकर्ताले २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

केयर रेटिङ्गस नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ माघ १३ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्ग २०८३ माघ ८ गतेसम्म बहाल रहने छ।

कस्तो कम्पनी हो?

नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी सभाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने हेतुले निजी क्षेत्रका उद्यमीहरु मिलेर २०७१ बैशाख १० गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको नाममा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो। कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता बिस्तार गर्ने हेतुले २०७८ असोज १४ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको नाममा कारोबार सञ्चालन गर्दै आएको छ। कम्पनीले आफ्नो आयोजनाबाट उत्पादित विद्युत बिक्री गर्ने प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता गर्दा टेक अर पे प्रावधानमा आधारित भई गरिएको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय ठेगाना काठमाडौँ महानगरपालिका–२२, खिचापोखरी, काठमाडौँमा रहेको छ भने जलविद्युत उत्पादन केन्द्र भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. १२ रहेको छ। आवश्यक परेको खण्डमा सम्बन्धित निकायमा आवश्यकतानुसार स्वीकृती लिई कम्पनीले अन्य ठाउँमा पनि शाखा कार्यालय खोल्न सक्नेछ।

कम्पनीले भोजपुर नगरपालिका तथा राम प्रसाद राई गाउंपालिका स्थित जलविद्युत आयोजनाबाट ८ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २०७३ असार ३ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको हो। सो आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष ४ महिना बाँकी रहेको छ।

आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीकोे प्रवन्ध–पत्रमा जारी पूँजीको ३५.२६ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान रहेको र कम्पनीको शेयर पूँजी सर्वसाधारणहरुलाई बिक्री वितरण गरी चुक्ता पूँजी ७७ करोड ६९ लाख ३३ हजार २०० रुपैयाँ पु¥याउन कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र बैंकबाट लिईएको कर्जा र कम्पनीले भुक्तान गर्न बाँकि अन्य दायित्व भुक्तान गर्न कम्पनीले आईपीओ निष्काशन गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

आईपीओ निष्काशनबाट प्राप्त हुने पूँजी रकमलाई बैंकबाट लिईएको कर्जा रकमको भुक्तानी गर्नमा प्रयोग गरिनेछ। कम्पनीले आईपीओ निष्काशनका संकलित कुल ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँमध्ये २४ करोड ६९ लाख १ हजार ७८४ रुपैयाँ प्राइम कमर्सियल बैंकमा र १७ करोड ६१ लाख ६५ हजार १६ रुपैयाँ माछापुच्छ्रे बैंकमा रहेको ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा ४ करोड ७२ लाख ४९ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ५९ लाख २९ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ७६ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी ७२ पैसा ऋणात्मक थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड ६८ लाख १३ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५७ पैसा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना रहनेछन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक रहनेछन्।

हाल कम्पनीमा ५ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अजय बल्लभ पन्त रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा पञ्चवीर सिंह तुलाधर, सुरेश कुमार स्थापित, शम्भु प्रसाद पन्त रहेका छन् भने स्वतन्त्र सञ्चालकमा रश्मी नेपाल रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। त्यस्तै, नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण विकास गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो लाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने कम्पनीको अन्य उद्देश्यहरु रहेका छन्।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।