नेप्सेसँगै घट्यो कारोबार रकम

Jun 04, 2026 03:10 PM Merolagani



बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ५१ हजार ६०१ पटकको कारोबारमा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कालिञ्चोक हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८५ रुपैयाँ ९० पैसा बढर ६५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य सर्वाधिक १०.४८ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्र शीर्ष स्थानमा रहेको छ। यस दिन सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन आँखा खोला जलविद्युत कम्पनी ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।