शुक्रबार नेप्से परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बिहीबार ४ अर्ब ७० करोड रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा यस दिन ३५१ स्टकको ५५ हजार ४६७ पटकको कारोबारमा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँबराबरको १ करोड २७ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कालिञ्चोक हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ९८ रुपैयाँ ८० पैसा बढेर ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ६९ लाख ६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिटि होटलको साढे १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।