फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओमा टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो। स्थानीय समयअनुसार बिहान ७ः३७ बजे (नेपाली समय अनुसार बिहान ५ः२२ बजे) भूकम्प गएको हो।
देशका विभिन्न भागहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ। केही विद्यालय तथा विश्वविद्यालयका भवनहरूमा समेत क्षति पुगेको बताइएको छ।
तटीय क्षेत्र नजिक भूकम्प गएकोले संरचनात्मक क्षति तथा सम्भावित सुनामीको जोखिम बढाएको अधिकारीहरूले बताएका छन्।
रोयटर्सका अनुसार, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले सुरुमा भूकम्पको तीव्रता ८.२ म्याग्निच्युड रहेको बताएको थियो। यसलाई पछि संशोधन गरिएको थियो। अन्य भूकम्प अनुगमन संस्थाहरूले भने ७.० देखि ७.८ म्याग्निच्युडसम्मको फरक–फरक अनुमान सार्वजनिक गरेका थिए।
एएफपीका अनुसार भूकम्पमा परी कम्तीमा एकजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।