आइएमई ग्रुपले म्याग्दीमा ६६ मेगावाटको तिप्लाङ कालीगण्डकी जलविद्युत् आयोजना बनाउने

Jun 17, 2026 03:01 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आइएमई ग्रुपले म्याग्दीमा अर्को नयाँ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ग्रुपले ६६ मेगावाट क्षमताको तिप्लाङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने भएको हो ।

उक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता(पीपीए) २०८० भदौ २२ मा सम्पन्न भएको थियो । तिप्लाङ कालीगण्डकी हाइड्रोपावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच पीपीए सम्झौता सम्पन्न भइ आयोजना निर्माण प्रक्रिया अघि बढेको आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताएका छन् ।

‘हामीले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ६६ मेगावाट क्षमताको तिप्लाङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाएका छौं।’ उनले सामाजिक सञ्जालमार्फत यो कुरा जानकारी गराएका हुन् ।

उनले यो आयोजना केवल ऊर्जा उत्पादनको परियोजना मात्र नभई यस क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणको आधार बन्ने बताए। उनका अनुसार, यो आयोजनाले स्थानीय रोजगारी सिर्जना गर्ने, सडक तथा अन्य पूर्वाधार विस्तार गर्ने,व्यवसायिक गतिविधि बढाउने र समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्नेछ।

आयोजनाका लागि आवश्यक वित्तीय व्यवस्थापनलगायका काम सम्पन्न भइसकेको छ । आइएमई ग्रुपले यसअघि लमजुङ जिल्लामा २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजना र म्याग्दी जिल्लामा ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गरिसकेको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।