इरानसँगको सम्झौतामा अनिश्चितता कायमै रहँदा फेडद्वारा अमेरिकी ब्याजदर यथावत्

Jun 18, 2026 11:36 AM Merolagani



आर्ची मिचेल (बीबीसी)

केन्द्रीय बैंकका नवनियुक्त प्रमुख केभिन वार्सको अध्यक्षतामा बसेको पहिलो बैठकपछि फेडरल रिजर्भले अमेरिकी ब्याजदरलाई ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतको दायरामा यथावत् राखेको छ

इरानमा जारी अमेरिका-इजरायल द्वन्द्वका कारण बढेको मुद्रास्फीतिलाई नियन्त्रण गर्न ब्याजदर स्थिर राख्ने वा बढाउने भन्ने विषयमा फेडका गभर्नरहरू विभाजित देखिएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्सका पूर्ववर्ती जेरोम पावेललाई ब्याजदर घटाउन निरन्तर दबाब दिँदै आएका थिए र नवनियुक्त अध्यक्ष वार्सले सो दबाब अनुसार दर कटौती गर्ने अपेक्षा गरिएको थियो।

तर, मुद्रास्फीति फेडको लक्ष्यभन्दा माथि (३.८ प्रतिशत) पुगेको र इरानसँगको द्वन्द्व अन्त्य गर्ने ट्रम्पको योजनाका विषयमा अनिश्चितता कायमै रहेका कारण फेडको ब्याजदर निर्धारण समितिले सर्वसम्मतिले ब्याजदर स्थिर राख्ने निर्णय गर्‍यो।

समितिका १२ सदस्यहरूद्वारा अनुमोदित विज्ञप्ति जारी गर्दै संघीय खुला बजार समिति (FOMC) ले भनेको छ: "मध्यपूर्वी द्वन्द्वका कारण अनिश्चितता बढे पनि आर्थिक गतिविधिहरू ठोस गतिमा अघि बढिरहेका छन्। उत्पादकत्वमा वृद्धि र पुँजीगत लगानी बलियो देखिएको छ।"

"रोजगारी वृद्धि र श्रमशक्ति दुवैले गति लिएका छन् भने बेरोजगारी दरमा सामान्य मात्र परिवर्तन भएको छ।"

बुधबार सार्वजनिक गरिएको फेडको वक्तव्यले केन्द्रीय बैंकको सञ्चार शैलीमा आएको ठूलो परिवर्तनलाई संकेत गर्दछ, जुन वार्सको कार्यकालका प्रमुख प्रतिबद्धताहरूमध्ये एक हो। उनी विगतमा फेडले आफ्ना निर्णयहरू सार्वजनिक गर्ने शैलीका कडा आलोचक थिए र नीति कार्यान्वयनका क्रममा 'कम बोल्नुपर्ने' उनको तर्क रहँदै आएको छ।

यसअघि अप्रिलमा जारी गरिएको फेडको वक्तव्य करिब ३५० शब्दको थियो, जबकि बुधबारको वक्तव्य केवल १३२ शब्दमा सीमित छ। "समितिले मूल्य स्थिरता कायम गर्नेछ," वक्तव्यको निष्कर्षमा भनिएको छ।

फेडको यस नयाँ वक्तव्यबाट भविष्यमा ब्याजदर घटाउन सक्ने संकेत गर्ने यसअघिको वाक्यलाई समेत हटाइएको छ।

ब्याजदर निर्धारण प्रक्रियामा सहभागी १८ केन्द्रीय बैंकरहरूमध्ये नौ जनाले यस वर्ष कम्तीमा एक पटक ब्याजदर वृद्धि हुन सक्ने प्रक्षेपण गरेका छन् भने केवल एक जनाले मात्र कटौतीको अपेक्षा गरेका छन्। निर्णयसँगै सार्वजनिक गरिएको केन्द्रीय बैंकरहरूको दृष्टिकोण झल्काउने 'डट-प्लट' (Dot-plot) ग्रिडका अनुसार बाँकी आठ जनाले भने दर यथावत् रहने अनुमान गरेका छन्।

वार्स आफैंले भने 'डट-प्लट' का लागि कुनै प्रक्षेपण प्रस्तुत गरेनन्। उनी यो प्रणालीको विरोधी भए पनि आफ्ना सहकर्मीहरूलाई भने यसमा अगाडि बढ्न प्रोत्साहित गरेको बताए।

प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख अमेरिकी अर्थशास्त्री शमूएल टम्ब्सले बुधबारको सबैभन्दा ठूलो समाचार नै वर्षको अन्त्य हुनुअघि ब्याजदर बढ्न सक्ने संकेत गर्ने 'डट-प्लट' रहेको टिप्पणी गरे।

फेडको यस निर्णयबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले संक्षिप्त प्रतिक्रिया दिँदै भने, "ठिकै छ... जे भए पनि।"

तर भविष्यमा हुन सक्ने ब्याजदर वृद्धिको सम्भावनामाथि उनले भने, "यो हुनसक्छ... तर विश्वास गर्न गाह्रो छ। यसले देशको आर्थिक वृद्धिलाई रोक्छ र यो निकै असामान्य कुरा हो।"

यद्यपि, पावेलको स्थानमा आफूले नियुक्त गरेका नयाँ अध्यक्ष वार्सको प्रशंसा गर्दै उनले थपे, "हामीसँग अहिले एक अत्यन्तै योग्य व्यक्ति हुनुहुन्छ, त्यसैले म उहाँकै निर्णय र सल्लाह अनुसार चल्नेछु।"

निर्णय सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वार्सले फेडको नेतृत्व परिवर्तनलाई "संस्थाको लक्ष्य पुन: पुष्टि गर्ने र वर्तमान अभ्यासहरूको समीक्षा गर्ने एक स्वाभाविक तथा समयसापेक्ष अवसर" का रूपमा व्याख्या गरे।

उनले फेडको 'भविष्यसूचक मार्गदर्शन' (Forward Guidance) ब्याजदर र अन्य मौद्रिक नीतिसम्बन्धी निर्णयहरूको छलफलका लागि उपयोगी नरहेको तर्क गरे। आफ्नो नयाँ र संक्षिप्त वक्तव्यबारे स्पष्ट पार्दै उनले भने, "हामी केवल स्पष्ट तथ्यहरू प्रस्तुत गर्छौं जसका आधारमा मानिसहरू आफैंले सही मूल्याङ्कन गर्न सकून्।"

साथै, वार्सले केन्द्रीय बैंकको संरचना सुदृढ गर्ने र नीति निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने संकेत समेत दिए। उनले फेडको कार्यप्रणालीका पाँच मुख्य क्षेत्रहरूको समीक्षा गर्न विशेष कार्यदल (Taskforces) गठन गरेका छन्। यस कार्यदलले फेडको सञ्चार शैली, ब्यालेन्स सिटको आकार, आर्थिक तथ्याङ्कको प्रयोग, उत्पादकत्व र रोजगारीबीचको सम्बन्ध, तथा मुद्रास्फीति व्यवस्थापनको रूपरेखाको अध्ययन गर्नेछ।

वर्षैपिच्छे मूल्य वृद्धि हुने दर अर्थात् मुद्रास्फीति गत अप्रिलमा ३.८ प्रतिशत पुगेको थियो। इरानमाथि सैन्य कारबाही गर्ने ट्रम्पको निर्णय र त्यसको बदलास्वरूप इरानले विश्वकै प्रमुख व्यापारिक जलमार्ग 'हर्मुज जलडमरुमध्य' (Strait of Hormuz) बन्द गरिदिएपछि महँगी बढ्न गएको हो।

जसका कारण इन्धन र ऊर्जाको मूल्यमा ठूलो वृद्धि भयो, जसलाई अमेरिकी श्रम तथ्याङ्क ब्यूरो (BLS) ले मूल्यवृद्धिको मुख्य कारक मानेको छ।

यद्यपि, जीवनयापनको बढ्दो लागत (महँगी) बारे सोधिएको प्रश्नमा ट्रम्पले गत जुनमा विवादास्पद टिप्पणी गर्दै भनेका थिए, "मलाई मुद्रास्फीति मन पर्छ।"

ह्वाइट हाउसमा बोल्दै उनले थपे, "मलाई यो मन पर्यो। तथ्याङ्कहरू उत्कृष्ट थिए। तपाईंलाई थाहा छ मलाई वास्तवमै के मन पर्छ? मलाई मुद्रास्फीति मन पर्छ।"




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।