बौद्धस्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण सम्पन्न, भोलिदेखि पुनः सञ्चालनमा आउने

Jun 23, 2026 05:41 PM Merolagani



काठमाडौँको बौद्ध (चुच्चेपाटी) स्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण कार्य सम्पन्न भई भोलि (बुधबार) देखि पुनः सञ्चालनमा आउने भएको छ।

गत वर्ष २०८२ भदौमा भएको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षति पुगेको यस स्टोरलाई झन्डै १० महिनाको मर्मत तथा स्तरोन्नतिपछि नयाँ स्वरूपमा सञ्चालन गर्न लागिएको हो।

भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (COO) पानु पौडेलका अनुसार, असार १० गते बुधबारदेखि ग्राहकहरूले बौद्ध शाखाबाट पहिलेझैँ अत्याधुनिक र गुणस्तरीय सेवा लिन सक्नेछन्।

"हामी हाम्रा आदरणीय ग्राहक वर्गलाई पुनः स्वागत गर्न पूर्ण रूपमा तयार छौँ," पौडेलले भने, "विगतको अप्रिय घटनाबाट पाठ सिक्दै सुरक्षा र व्यवस्थापनलाई अझ सुदृढ बनाएर स्टोरलाई आधुनिक र आकर्षक लुकसहित पुनः सञ्चालनमा ल्याएका छौँ।"

गत वर्षको भदौ २४ गते देशव्यापी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनीका आउटलेटहरूमा ठुलो क्षति पुगेको थियो। आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेका स्टोरहरूमध्ये पुनर्निर्माण सम्पन्न भएर सञ्चालनमा आउन लागेको बौद्ध शाखा पाँचौँ स्टोर हो। यसअघि कोटेश्वर, पोखरा, चितवन र महाराजगञ्जका स्टोरहरू मर्मतसम्भारपछि सञ्चालनमा आइसकेका छन्।

लामो समयको अन्तरालपछि बौद्ध क्षेत्रको प्रमुख सपिङ हब पुनः सञ्चालनमा आउने भएपछि स्थानीय उपभोक्ता तथा व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। भाटभटेनी व्यवस्थापनले पुनः सञ्चालनको अवसरमा ग्राहकहरूका लागि विशेष छुट तथा अफरहरूको समेत व्यवस्था गरेको जनाएको छ।