नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्न आजदेखि शुल्क तिर्नुपर्ने, साना सवारीलाई ६५ रुपैयाँ

Nov 01, 2026 12:49 PM merolagani



नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार राति १२ बजेदेखि अनिवार्य रूपमा सडक दस्तुर तिर्नुपर्ने भएको छ ।

सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित दरअनुसार दस्तुर बुझाएर मात्र आवतजावत गर्न पाउने भएका हुन् ।

नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको वर्गीकरणका आधारमा दस्तुर निर्धारण गरिएको छ । सोहीअनुसार काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनका लागि फरक–फरक दर तोकिएको छ ।

निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।

सुरुवाती चरणमा सवारीचालकले नगद वा क्यूआर कोडमार्फत दस्तुर भुक्तानी गर्न सक्नेछन् । आगामी दिनमा भने आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गर्ने तयारी गरिएको आयोजना प्रमुख नेपालले जानकारी दिए । उक्त प्रणाली कार्यान्वयनमा आएपछि सवारीसाधनबाट स्वचालित रूपमा दस्तुर संकलन गर्न सकिनेछ ।

सुरुङमार्गमा सेवा प्रदायक कम्पनीका कर्मचारी परिचालन गरी दस्तुर संकलन गरिने व्यवस्था मिलाइएको छ । यसरी संकलन भएको रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।

दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् । सडक दस्तुर लागू भएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि नियमित यात्रा खर्चमा थप शुल्क जोडिने भएको छ ।

सुरुङमार्ग सञ्चालनलाई व्यवस्थित बनाउन तथा निर्धारित प्रणालीअनुसार दस्तुर संकलन गर्न यो व्यवस्था लागू गरिएको हो ।