भेनेजुएलामा शक्तिशाली भूकम्प, राजधानी काराकासमा ठूलो क्षति

Jun 25, 2026 07:08 AM Merolagani



दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ (स्थानीय समय अनुसार) एक मिनेटको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प (सेस्मिक डबल क्लस्टर) गएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको महसुस गरिएको ३९ सेकेन्ड लम्बिन नपाउँदै लगत्तै ७.५ म्याग्निच्युडको अर्को मुख्य र विनासकारी भूकम्प गएको थियो।

भूकम्पको केन्द्रविन्दु भेनेजुएलाको तटीय सहर मोरोनभन्दा केही किलोमिटर टाढा र जमिनको सतहभन्दा मात्र १० देखि १३ किलोमिटरको कम गहिराइमा रहेको थियो। कम गहिराइका कारण यसको धक्का निकै संवेगात्मक र विनाशकारी महसुस गरिएको छ।

भूकम्पका कारण भेनेजुएलाको राजधानी काराकास सबैभन्दा बढी प्रभावित भएको छ। काराकासको धनाढ्य वर्ग बस्ने "अल्टामिरा" क्षेत्रमा एउटा २२ तले अग्लो आवासीय भवन पूर्ण रूपमा भत्किएको छ। दर्जनौँ अन्य भवनहरू र बैंकका शाखाहरू पनि ढलेका छन्। भग्नावशेषमा मानिसहरू फसिरहेका आशंकामा उद्धार कार्य तीव्र पारिएको छ। काराकासस्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलको छतको भाग भत्किँदा उडानहरू पूर्ण रूपमा बन्द गरिएका छन्। भूकम्प लगत्तै काराकास लगायतका धेरै सहरहरूमा विद्युत आपूर्ति र इन्टरनेट सेवा ठप्प भएको छ।

भूकम्प लगत्तै प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले क्यारिबियन क्षेत्रका मुलुकहरू—पुएर्टो रिको, भर्जिन आइल्याण्ड र अरुबा टापुहरूमा समुद्री लहर बढ्न सक्ने भन्दै "सुनामी अलर्ट" जारी गरेको थियो। यद्यपि, स्थिति सामान्य देखिएपछि करिब एक घण्टा पछि सो चेतावनी फिर्ता लिइएको छ।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोले मिडियामा आउँदै थप पराकम्पहरू आउन सक्ने भएकाले सबै नागरिकलाई घरबाहिरै सुरक्षित स्थानमा बस्न र ग्यास लिक हुन सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभएको छ। युएसजीएसले भौतिक र मानवीय क्षति निकै ठूलो हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ, यद्यपि आधिकारिक रूपमा ज्यान गुमाउनेहरूको यकिन विवरण आइसकेको छैन।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।