नेदरल्याण्ड्स समूह विजेता बन्दै नकआउटमा, जापान र स्विडेनको पनि अन्तिम ३२ मा स्थान सुरक्षित

Jun 26, 2026 07:02 AM Merolagani



फिफा विश्वकप २०२६ को समूह एफ को अन्तिम तथा निर्णायक खेलहरूमा आज रोमाञ्चक प्रतिस्पर्धा भएको छ। नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

अर्कोतर्फ, जापान र स्विडेन बीचको खेल १–१ को बराबरीमा सकिएपछि दुवै टोलीले अन्तिम ३२ मा आफ्नो स्थान पक्का गरेका छन्। यस समूहबाट ७ अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा रह्यो भने जापान दोस्रो र स्विडेन तेस्रो स्थानमा रहँदै अघिल्लो चरण पुग्न सफल भएका हुन्।

कान्सास सिटी स्टेडियममा भएको खेलमा डच टोली (नेदरल्याण्ड्स) ले खेलको सुरुआतदेखि नै आफ्नो दबाब कायम राख्यो। खेलको तेस्रो मिनेटमै ट्युनिसियाका एलिएस स्किरीले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले १–० को अग्रता लियो। खेलको ७औँ मिनेटमा ब्रायन ब्रोबेले उत्कृष्ट गोल गर्दै डच टोलीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा ट्युनिसियाले केही सुधारिएको खेल प्रदर्शन गर्यो। खेलको ५४औँ मिनेटमा हाजेम मस्तौरीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए र ट्युनिसियाको आशा जगाए। तर, खेलको ६२औँ मिनेटमा नेदरल्याण्ड्सका डिफेन्डर जान पल भ्यान हेकेले सानदार हेड गोल गर्दै टोलीको ३–१ को जित पक्का गरे। यस जितसँगै नेदरल्याण्ड्सले अब अन्तिम ३२ मा मोरक्कोको सामना गर्नेछ।

डालास स्टेडियममा भएको समूह एफ को अर्को निकै प्रतिस्पर्धात्मक खेलमा जापान र स्विडेनले अंक बाँडेका छन्। दुवै टोलीलाई अघिल्लो चरण पुग्न बराबरीको नतिजा नै पर्याप्त थियो। खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसरहरू सिर्जना गरे पनि फिनिसिङ हुन सकेन र पहिलो हाफ ०–० को बराबरीमा सकियो। स्विडेनका मुख्य डिफेन्डर इसाक हिएन खेलको ३६औँ मिनेटमा चोटग्रस्त हुँदै मैदानबाट बाहिरिनु परेको थियो।

दोस्रो हाफको ५६औँ मिनेटमा जापानका दाइजेन माएडाले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। यो गोल यस विश्वकपमा जापानको सातौँ गोल थियो, जुन विश्वकप इतिहासमै जापानले बनाएको सबैभन्दा धेरै गोलको कीर्तिमान हो।

जापानले खुसी मनाउन नपाउँदै ६ मिनेटपछि अर्थात् खेलको ६२औँ मिनेटमा स्विडेनका युवा फरवार्ड एन्थनी एलाङ्गाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। बाँकी समयमा थप गोल हुन सकेन र खेल बराबरीमै सकियो। यो नतिजासँगै जापान समूहको दोस्रो स्थानमा रहँदै नकआउटमा बलियो टोली ब्राजिलसँग खेल्ने तय भएको छ भने स्विडेन पनि तेस्रो स्थानका उत्कृष्ट टोलीहरूको सूचीमा पर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।