फिफा विश्वकप २०२६ः अन्तिम समयमा अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन, ६० वर्षपछि फाइनलमा पुग्ने इङ्गल्याण्डको प्रयास असफल

Jul 16, 2026 03:19 AM Merolagani



फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले अविश्वसनीय र रोमाञ्चक पुनरागमन गर्दै चिरप्रतिद्वन्द्वी इङ्गल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

जर्जियाको एटलान्टा स्टेडियममा भएको यस महाभिडन्तमा खेलको अन्तिम पाँच मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यो जितसँगै अर्जेन्टिनाले अब सोमबार हुने फाइनल खेलमा स्पेनको सामना गर्नेछ, जसले फ्रान्सलाई पराजित गर्दै पहिले नै फाइनलमा स्थान बनाइसकेको छ।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। दुवै टोलीका रक्षापङ्क्तिहरूले बलियो प्रदर्शन गरेपछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेन।

दोस्रो हाफको ५५औँ मिनेटमा इङ्गल्याण्डका विङ्गर एन्थोनी गोर्डनले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को महत्त्वपूर्ण अग्रता दिलाए।

खेलको ८५औँ मिनेटमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले बक्स बाहिरबाट सानदार प्रहार गर्दै गोल गरी खेललाई १–१ को रोमाञ्चक स्थितिमा ल्याए। निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका लाउतारो मार्टिनेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई २–१ को नाटकीय जित दिलाए।

यो जितसँगै अर्जेन्टिना विश्वकपको इतिहासमा सेमिफाइनल खेलिएका सबै ६ वटै अवसरमा विजयी हुँदै फाइनलमा पुग्ने शतप्रतिशत रेकर्ड कायम राख्न सफल भएको छ। अर्कोतर्फ, ६० वर्षपछि (१९६६ पछि) पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने इङ्गल्याण्डको सपना अन्तिम ५ मिनेटमा चकनाचुर हुन पुग्यो।

फिफा विश्वकप २०२६ को महा–उपाधि भिडन्त आगामी सोमबार (जुलाई २०, नेपाली समय बिहान १२ः४५ बजे) न्युयोर्क न्युजर्सी स्टेडियममा आयोजना हुनेछ। उपाधि रक्षाका लागि साविक विजेता अर्जेन्टिनाले यस विश्वकपमा निकै उत्कृष्ट लयमा रहेको स्पेनको सामना गर्नेछ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।