फिफा विश्वकप २०२६ः साविक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेन नयाँ विश्वविजेता

Jul 20, 2026 04:03 AM Merolagani



फिफा विश्वकप २०२६ को फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले स्तब्ध पार्दै स्पेन नयाँ विश्वविजेता बनेको छ।

न्युयोर्क न्युजर्सी स्टेडियममा भएको ऐतिहासिक र तनावपूर्ण फाइनल भिडन्तमा स्पेनका फेरान टोरेस महानायक बने। उनले अतिरिक्त समयमा गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्वकपको उपाधि दिलाउन निर्णायक साबित भयो। यस ऐतिहासिक जितसँगै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकप ट्रफी उचालेको छ भने लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिना र लियोनेल मेसीको सपना अधुरै भएको छ।

खेलको सुरुवातदेखि नै स्पेनले बल पोजेसनमा नियन्त्रण राखेको थियो भने अर्जेन्टिनाले काउन्टर अट्याकमा जोड दिएको थियो। पहिलो हाफमा लामिन यमालको प्रहारलाई अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरे। दुवै टोलीले निर्धारित ९० मिनेटसम्म गोल गर्न नसकेपछि खेल ०–० को बराबरीमा सकियो।

दोस्रो हाफ सकिए लगतै अतिरिक्त समयको सुरुवातमै (९३औँ मिनेटमा) अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनका पाउ कुबार्सीलाई खराब ट्याकल गरेपछि दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। यो विश्वकप फाइनलको इतिहासमा सन् २०१० पछिकै पहिलो रातो कार्ड हो। १० खेलाडीमा सीमित भएपछि अर्जेन्टिना ठूलो दबाबमा पर्‍यो।

१० खेलाडीको अर्जेन्टिना विरुद्ध लगातार दबाब बनाएको स्पेनका लागि १०६औँ मिनेटमा लामिन यमाल, पेड्रो पोरो र निको विलियम्सको सानदार विल्ड–अप पासमा फेरान टोरेसले बक्सको मध्यभागबाट उत्कृष्ट प्रहार गर्दै बललाई नेटको जाली चुमाए। सोही गोल नै स्पेनलाई विश्वविजेता बनाउन पर्याप्त बन्यो।

लुइस डे ला फुएन्तेको युवा जोश र रक्षात्मक अनुशासनले भरिएको स्पेनको नयाँ पुस्ता (लामिन यमाल र पाउ कुबार्सी) ले अन्ततः फिफा विश्वकप २०२६ को सुनौलो ट्रफी उचाल्दै विश्व फुटबलमा आफ्नो साम्राज्य पुनः स्थापित गरेको छ।