फिफा विश्वकप २०२६ः नर्वेलाई अतिरिक्त समयमा हराउँदै इङ्गल्याण्ड चौथो पटक सेमिफाइनलमा

Jul 12, 2026 05:52 AM Merolagani



फिफा विश्वकप २०२६ को तेस्रो क्वाटरफाइनलमा साविक उपविजेता इङ्गल्याण्डले नर्वेको ऐतिहासिक यात्रा समाप्त पार्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

फ्लोरिडाको मियामी स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक खेलमा इङ्गल्याण्डले अतिरिक्त समयमा नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। इङ्गल्याण्डको जितमा रियल म्याड्रिडका सुपरस्टार जुड बेलिङ्घम महानायक बने, जसले खेलमा दुई महत्वपूर्ण गोल गरे।

खेलको सुरुवाती ३० मिनेटमा इङ्गल्याण्डले बल पोजेसनमा नियन्त्रण राखे पनि नर्वेले ३६औँ मिनेटमा पहिलो वास्तविक आक्रमणमै गोल गर्‍यो। एन्टोनी नुसाको पासमा एन्ड्रियास श्जेलडरुपले इङ्गल्याण्डका डिफेन्डरहरूलाई छक्काउँदै सानदार गोल गरी नर्वेलाई १–० को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्थोनी गोर्डनको क्रसमा चार नर्वेजियन डिफेन्डरहरूको घेरा तोड्दै जुड बेलिङ्घमले उत्कृष्ट गोल गरी खेललाई १–१ को बराबरीमा ल्याए।

खेलको दोस्रो हाफ निकै विवादित र नाटकीय रह्यो। ५६औँ मिनेटमा नर्वेका टोरब्योर्न हेग्गेमले गोल गरे पनि भीएआरले अर्लिङ ह्याल्यान्डले फल गरेको भन्दै गोललाई मान्यता दिएन। त्यसैगरी पहिलो हाफको अन्त्यमा इङ्गल्याण्डका कप्तान ह्यारी केनको गोल पनि अफसाइड घोषित भएको थियो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समय सुरु भएको ठीक तेस्रो मिनेटमा (९३औँ मिनेट) नर्वेका गोलकिपर ओर्जान निल्यान्डको गल्तीको फाइदा उठाउँदै जुड बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्याण्डलाई २–१ को अग्रता दिलाए, जुन जितका लागि पर्याप्त बन्यो। १–२ ले पछि परेको अवस्थामा नर्वेलाई अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै ठूलो झट्का लाग्यो। यस विश्वकपमा उत्कृष्ट लयमा रहेका कप्तान तथा स्टार स्ट्राइकर अर्लिङ ह्याल्यान्ड चोटका कारण मैदानबाट बाहिरिन बाध्य भए। उनको स्थानमा जोर्गेन स्ट्रान्ड लार्सन मैदान प्रवेश गरे पनि नर्वेले बराबरी गोल फर्काउन सकेन।

खेलको अन्तिम समयमा इङ्गल्याण्डका प्रशिक्षक थोमस टुचेलले जुड बेलिङ्घमको ठाउँमा डिफेन्डर ड्यान बर्नलाई मैदान पठाएर रक्षापंक्ति ५ खेलाडीको बनाएका थिए। यसले नर्वेका अन्तिम आक्रमणहरूलाई रोक्न सफल भूमिका खेल्यो। ब्राजिल जस्तो बलियो टोलीलाई हराएर इतिहास रचेको नर्वेको यात्रा भने क्वाटरफाइनलमै समाप्त भएको छ।

चौथो पटक विश्वकपको सेमिफाइनलमा पुगेको इङ्गल्याण्डले अब फाइनल प्रवेशका लागि आगामी बुधबार राति एटलान्टामा साविक विजेता अर्जेन्टिना वा स्विट्जरल्याण्ड बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।