फिफा विश्वकप २०२६ फाइनलः दुई फरक शैली र दुई फरक पुस्ताको रोमाञ्चक टक्कर

Jul 19, 2026 04:10 PM Merolagani



फिफा विश्वकप २०२६ को महा–उपाधि भिडन्तको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली समय अनुसार भोली सोमबार (साउन ५ गते) बिहान १२ः४५ बजे न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र युरोपेली कप विजेता स्पेन आमनेसामने हुँदैछन्।

यो फाइनल खेल फुटबल इतिहासकै दुई फरक शैली र दुई फरक पुस्ताको रोमाञ्चक टक्कर हुने निश्चित छ। एकतर्फ महान् खेलाडी लियोनेल मेसी आफ्नो करियरको अन्तिम विश्वकप उपाधि रक्षा गर्दै इतिहासकै सबैभन्दा सफल अन्तर्राष्ट्रिय बिदाइको खोजीमा छन् भने अर्कोतर्फ १८ वर्षीय युवा स्टार खेलाडी लामिन यमालको नेतृत्वमा रहेको स्पेन आफ्नो दोस्रो विश्वकप उपाधि जित्ने दाउमा छ।

साविक विजेता अर्जेन्टिनाको फाइनल यात्रा सजिलो रहेन। उनीहरूले केप भर्ड र स्विट्जरल्याण्डविरुद्ध अतिरिक्त समयमा सङ्घर्ष गर्नुका साथै सेमिफाइनलमा इङ्गल्याण्डविरुद्ध अन्तिम ५ मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै २–१ को जित निकालेका थिए। टोलीसँग दबाब झेल्ने उच्च अनुभव छ।

लुइस डे ला फुएन्तेको स्पेनले भने पूर्ण नियन्त्रणका साथ फुटबल खेलिरहेको छ। पोर्चुगल र बेल्जियमलाई पाखा लगाउँदै सेमिफाइनलमा साविक उपविजेता फ्रान्सलाई २–० ले सहजै पन्छाएर स्पेनले फाइनलको टिकट काटेको हो। स्पेन हाल ऐतिहासिक ३७ खेलको अपराजित यात्रामा छ।

गोल्डेन बुटको दौड

फिफा विश्वकप २०२६ को महा-फाइनल खेल सुरु हुन केही समय मात्र बाँकी रहँदा गोल्डेन बुट (Golden Boot) को दौडमा निकै ठूलो र नाटकीय मोड आएको छ। हिजो भएको तेस्रो स्थानको कांस्य पदक भिडन्तमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले इङ्गल्याण्ड विरुद्ध दुई गोल गरेपछि उनले अर्जेन्टिनी कप्तान लियोनेल मेसीलाई पछि पार्दै गोल्डेन बुटको रेसमा एकल अग्रता बनाएका छन्।

यद्यपि, आज राति स्पेन विरुद्ध हुने फाइनल खेलमा लियोनेल मेसीसँग यो दूरी पार गर्ने र फुटबल इतिहासकै सबैभन्दा दुर्लभ कीर्तिमानहरू आफ्नो नाममा लेख्ने अन्तिम अवसर छ।

गोल्डेन बुटको दौडमा एमबाप्पे १० गाेलसहित शीर्ष स्थानमा छन् भने ८ गाेल गरेका मेस्सी दाेस्राे स्थानमा छन्।