डेम्बेलेको ह्याट्रिकमा फ्रान्स विजयी, सेनेगलले गर्यो इराकमाथि गोलको वर्षा

Jun 27, 2026 04:32 AM Merolagani



फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलहरूमा फ्रान्स र सेनेगलले सानदार जित हासिल गरेका छन्। फ्रान्सले नर्वेलाई ४–१ ले पराजित गर्दा सेनेगलले इराकसँगको खेलमा ५–० को विशाल जित निकालेको छ।

बोस्टन स्टेडियममा भएको समूह आई को रोमाञ्चक खेलमा फ्रान्सले नर्वेमाथि सहज जित हात पारेको छ। दुवै टोली यसअघि नै अन्तिम ३२ मा पुगिसकेका भए पनि समूह विजेता बन्न यो खेल निकै महत्त्वपूर्ण थियो।

फ्रान्सका विङ्गर ओस्मान डेम्बेलेले पहिलो हाफमै सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। उनले खेलको ७औँ, २०औँ र ३२औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई बलियो स्थितिमा पुर्‍याएका थिए। खेलको २१औँ मिनेटमा नर्वेका थेलो आसगार्डले एक गोल फर्काए पनि त्यो टोलीको पुनरागमनका लागि पर्याप्त भएन। खेलको ४९औँ मिनेटमा नर्वेले पेनाल्टीको अवसर पाएको थियो, तर जोर्गेन स्ट्रान लार्सनले त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

दोस्रो हाफको इन्जुरी समयमा युवा खेलाडी डेजिरे दुएले गोल गर्दै फ्रान्सको ४–१ को जित सुनिश्चित गरे। यस जितसँगै फ्रान्स समूह आई को विजेता बनेको छ।

टोरोन्टो स्टेडियममा भएको खेलमा अफ्रिकी पावरहाउस सेनेगलले इराकी टोलीलाई पूर्ण रूपमा दबाबमा राख्दै ५–० को फराकिलो अन्तरले पाखा लगायो। नकआउट चरणको दौडमा जीवितै रहन सेनेगलका लागि यो खेल विशाल गोल अन्तरले जित्नु आवश्यक थियो।

खेलको चौथो मिनेटमै सेनेगलका हबिब डियाराले गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सीमित भयो, जसको फाइदा सेनेगलले भरपूर उठायो।

पहिलो हाफमा १–० को अग्रता लिएको सेनेगलले दोस्रो हाफमा थप ४ गोल गर्‍यो। ५६औँ मिनेटमा इस्माइला सारले गोल गरे। पापे गुएले उत्कृष्ट प्रदर्शन गर्दै ५९औँ र ७१औँ मिनेटमा लगातार दुई गोल गरे।खेलको ८३औँ मिनेटमा इलिमान न्डियाएले ३० यार्ड टाढाबाट सानदार गोल गर्दै सेनेगलको ५–० को जित पक्का गरे।

यो फराकिलो जितसँगै सेनेगलले ३ अंक र उत्कृष्ट गोल अन्तरसहित ‘सर्वोत्कृष्ट तेस्रो टोली’ को रूपमा नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई निकै बलियो बनाएको छ।