अब बिजुली नकाटी मर्मत गर्न सकिने, प्राधिकरणद्वारा ‘लाइभ–लाइन’ प्रविधिको सफल परीक्षण

Jun 28, 2026 04:36 PM Merolagani



नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द नगरी ११ केभी (११ हजार भोल्ट) वितरण लाइन मर्मत गर्न सकिने ‘लाइभ–लाइन’ प्रविधिको सफल परीक्षण गरेको छ ।

प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले बुटवलको कालिकानगरस्थित ११ केभी लाइनमा तालिमप्राप्त प्राविधिकमार्फत यसको सफल परीक्षण गरेको हो ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको उपस्थितिमा भएको यो परीक्षण सफल भएसँगै अब मर्मतसम्भारका क्रममा हुने विद्युत कटौती (सटडाउन) उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ । हालसम्म नेपालमा नियमित मर्मतका लागि सम्बन्धित फिडर वा लाइनको विद्युत आपूर्ति नै बन्द गर्नुपर्ने बाध्यता थियो ।

के हो ‘लाइभ–लाइन’ प्रविधि ?

यो प्रविधिमा विशेष इन्सुलेटेड उपकरण, सुरक्षा सामग्री र उच्च तालिमप्राप्त प्राविधिकको प्रयोग गरी विद्युत प्रवाह भइरहेकै अवस्थामा मर्मत कार्य गरिन्छ ।

मर्मतका बेला उपभोक्ताको घर र उद्योगको बिजुली काट्नु पर्दैन । जसले वितरण प्रणाली थप भरपर्दो र गुणस्तरीय बन्छ । विद्युत कटौती नहुँदा उद्योग र व्यवसायमा हुने उत्पादन अवरोध हट्छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझाका अनुसार यो प्रविधिलाई क्रमशः सहरी क्षेत्रका प्रमुख वितरण लाइनहरूमा विस्तार गर्ने योजना छ । लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले वितरण प्रणालीलाई आधुनिक र उपभोक्तामैत्री बनाउन यो महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताए ।

यो प्रविधिको व्यापक प्रयोगले आगामी दिनमा लाइन मर्मतका कारण हुने लोडसेडिङबाट सर्वसाधारणले पूर्ण रूपमा मुक्ति पाउने सम्भावना बढेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।