हाल नेपाल स्टक एक्सचेन्जमा दुईवटा मात्र औषधि उत्पादक कम्पनी सूचीकृत भएपनि यस क्षेत्रमा नयाँ मर्जर, प्राथमिक शेयर निष्कासन र प्रि–आईपीओ शेयर निष्कासनको नयाँ लहर सुरु भएको छ।
पछिल्लो समय दोस्रो बजारमा सूचीकृत ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले नेप्सेमा सूचीकृत नभएको संस्था रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाएसँगै बजारमा नयाँ तरंग पैदा भएको छ। दुवै कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भई नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससीलाई समेत औपचारिक जानकारी गराइसकेको छ। यस प्रक्रियालाई अन्तिम रूप दिन ओम मेगाश्रीले असार २८ गते विशेष साधारण सभा आह्वान गरेको छ, जहाँ सम्पत्ति तथा दायित्व मूल्यांकन, शेयर स्वाप अनुपात र पुँजी वृद्धिका मुख्य एजेन्डाहरू पारित गरिँदैछ। यो प्राप्तिपछि यस क्षेत्रमा कम्पनीको व्यवसाय, उत्पादन क्षमता र बजार हिस्सा अझ बलियो हुने अपेक्षा गरिएको छ।
हाल दोस्रो बजारमा औषधि उत्पादन क्षेत्रबाट ओम मेगाश्री र सोपान फर्मास्युटिकल्स लिमिटेड मात्र सक्रिय छन्। सोपान हालै मात्र १ करोड ७१ लाख कित्ताभन्दा बढी शेयरसहित बजारमा प्रवेश गरेको नयाँ कम्पनी हो। कारोबार सुरु भएको छोटो समयमै यसले लगानीकर्ताको ठूलो ध्यान तानेको छ। पछिल्ला दिनहरूमा दैनिक ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदै सोपान नेप्सेको सर्वाधिक कारोबार हुने कम्पनीको अग्रपंक्तिमा देखिन थालेको छ, जसले यस क्षेत्रप्रति लगानीकर्ताको आकर्षण कति उच्च छ भन्ने पुष्टि गर्दछ।
धितोपत्र बोर्डका अधिकारीहरूका अनुसार अन्य धेरै औषधि र स्वास्थ्य सेवा प्रदायक कम्पनीहरू पनि प्राथमिक शेयर निष्कासनको आन्तरिक तयारीमा जुटेका छन्। कान्तिपुर फर्मास्युटिकल्स र निभिक्स फर्मास्युटिकल्स लिमिटेडले साधारण सभाबाट शेयर निष्कासन प्रस्ताव स्वीकृत गराई धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा चढिसकेको छ । त्यस्तै, स्वास्थ्य सामग्री र उपकरण वितरणका साथै औषधि उत्पादनमा सक्रिय सुप्रिम हेल्थकेयर लिमिटेड शेयर निष्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा आइसकेको छ। सुप्रिमकै भगिनी संस्थाको रूपमा रहेको औषधि उद्योग युनिक फार्मास्युटिकल्स लिमिटेडले समेत पब्लिक लिमिटेडमा रूपान्तरण भई शेयर निष्कासनकै प्रक्रिया अगाडि बढाएको छ। यसबाहेक मारुती फर्मास्युटिकल्स र मकालु फर्मास्युटिकल्स जस्ता कम्पनीहरू पनि पब्लिक लिमिटेडमा रूपान्तरण भई रेटिङ र बिक्री प्रबन्धक नियुक्तिको गृहकार्यमा जुटेका छन्। कतिपय कम्पनीहरूले प्रि आईपीओ शेयर निष्कासन र प्राइभेट प्लेसमेन्टको कामलाई समेत तीव्रता दिइरहेका छन्।
यद्यपि, धितोपत्र बोर्डमा लामो समयदेखि स्थायी अध्यक्ष नहुँदा ९८ भन्दा बढी कम्पनीको करिब ६६ अर्ब रुपैयाँ बराबरको शेयर स्वीकृति प्रक्रिया ठप्प बनेको थियो। नियामक निकाय नेतृत्वविहीन बन्दा औषधि क्षेत्रका कम्पनीहरूको फाइल समेत अगाडि बढ्न सकेको छैन, जसका कारण उद्योगहरू पुँजी संकलन गरी व्यवसाय विस्तार गर्ने योजनाबाट केही समय पछि धकेलिएका थिए । सरकारले हालै मात्रै धितोपत्र बोर्ड अध्यक्षको रुपमा डा. गोपाल भट्टलाई नियुक्ति दिएको छ ।
औषधि क्षेत्रको नियामक निकाय औषधि व्यवस्था विभागले भने औषधि उत्पादक कम्पनीहरू पुँजी बजारमा आउनु र उनीहरूबीच मर्जर हुनुलाई सकारात्मक रूपमा लिएको छ। विभागका अनुसार नेपालमा हाल ८० भन्दा बढी स्वदेशी औषधि उद्योगहरू सञ्चालनमा छन्, जसले कुल मागको झन्डै ४५ देखि ५० प्रतिशत हिस्सा धान्दै आएका छन्। यो संवेदनशील क्षेत्रका कम्पनीहरू पब्लिकमा जाँदा वित्तीय पारदर्शिता बढ्ने र विश्व स्वास्थ्य संगठनको 'जीएमपी’ को गुणस्तर कायम गर्न संस्थागत मद्दत पुग्ने विभागको विश्वास छ। मर्जर र नयाँ पुँजीले उद्योगहरूको वित्तीय स्वास्थ्य बलियो बनाउन सहयोग पुर्याउनेछ।
समग्रमा, वित्तीय र जलविद्युत क्षेत्रको चाप रहेको बजारमा औषधि कम्पनीहरूको आगमनले लगानीकर्ताहरूलाई लगानी विविधीकरणको उत्कृष्ट अवसर दिएको छ। धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएसँगै आगामी दिनमा देउराली–जनता, क्यूमेड वा एसियन फर्मास्युटिकल्स जस्ता अन्य स्थापित र ठूला ब्रान्डहरूलाई पनि पुँजी बजारमा आउन बाटो खुल्ने देखिन्छ। यसले समग्र पुँजी बजार र औषधि उद्योग दुवैको विकासमा नयाँ आयाम थप्ने बजार विश्लेषकहरूको ठहर छ।