ऐतिहासिक थानकोट–चित्लाङ व्यापारिक मार्गलाई पर्यटनसँग जोड्न सरोकारवालाको ऐक्यबद्धता

Jun 30, 2026 12:30 PM Merolagani



ऐतिहासिक र सांस्कृतिक रूपले महत्वपूर्ण प्राचीन थानकोट–चित्लाङ व्यापारिक मार्गलाई पुनः ब्युँताउँदै दिगो पर्यटनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपाल पर्यटन विकास व्यवसायी संघ (NTDEA) र चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ को संयुक्त आयोजनामा शनिबार चन्द्रागिरि–थानकोट क्षेत्र केन्द्रित अवलोकन भ्रमण तथा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने ऐतिहासिक नाका र यस आसपासका धार्मिक एवं प्राकृतिक सम्पदाको प्रवर्द्धन गरी स्थानीय आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पर्यटन बोर्ड, सङ्ग्रहालय प्रमुख, पर्यटन व्यवसायी तथा अनुसन्धानकर्ताहरूको उल्लेख्य सहभागिता रह्यो।

प्राचीन मार्ग र सम्पदाको प्रत्यक्ष अनुभव

भ्रमणको सुरुवात थानकोटको ऐतिहासिक चुनदेवी मन्दिर परिसरबाट गरियो। सहभागीहरूले घना जङ्गल, चराचुरुङ्गीको आवाज र प्राकृतिक सौन्दर्यको आनन्द लिँदै प्राचीन व्यापारिक मार्ग भएर करिब साढे दुई घण्टाको पदयात्रा पूरा गरे। देउराली भालेश्वर महादेव मन्दिर हुँदै आदिनारायण मन्दिर परिसर पुगेको टोलीलाई स्थानीय समुदायले परम्परागत भजन र सांस्कृतिक प्रस्तुतिमार्फत स्वागत गरे, जसले यात्रामा आध्यात्मिक र सांस्कृतिक रौनक थप्यो।

प्रविधिको प्रयोग र रैथाने कथावाचनमा जोड

कार्यक्रममा चन्द्रागिरि वडा नम्बर ४ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले वडाभित्र रहेका मूर्त-अमूर्त सम्पदाको व्यवस्थित संरक्षण र प्रवर्द्धन गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए।

नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनील शर्माले नेपालको प्राचीन सभ्यतालाई आधुनिक पुस्ता र विश्वसामु पुर्‍याउन भावनात्मक र प्रामाणिक डिजिटल कथावाचन आवश्यक रहेको उल्लेख गरे। चुनदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ईश्वर लामाले ओझेलमा परेका यी पदमार्गहरूको राष्ट्रिय स्तरमा व्यापक प्रचारप्रसार हुनुपर्नेमा जोड दिए।

शैक्षिक सहकार्य र पर्यटकीय सम्भावना

संघका अध्यक्ष अच्युत सिग्देलले चन्द्रागिरि क्षेत्रलाई पैदल यात्रा, सांस्कृतिक र अनुसन्धान पर्यटनको केन्द्र बनाउन सकिने भन्दै स्थानीय विद्यालयका विद्यार्थीहरूलाई हनुमानढोका दरबार क्षेत्रको शैक्षिक भ्रमण गराउन प्राविधिक सहयोग गर्ने घोषणा गरे। पदयात्रा समापनपछि चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजित अन्तरक्रियामा विज्ञहरूले चन्द्रागिरिको पर्यटन विकासका विविध आयाममाथि गहन मन्थन गरे।

अन्तरक्रियाका क्रममा संघका सल्लाहकार प्रा. डा. सोमप्रसाद खतीवडाले चित्लाङमा फेला परेको अंशुवर्माको अभिलेखले यो मार्ग प्राचीन कालदेखि नै कति महत्वपूर्ण थियो भन्ने प्रमाणित गर्ने ऐतिहासिक तथ्य प्रस्तुत गरे। त्यस्तै, टुरगानका अध्यक्ष थानेश्वर देवकोटाले सामान्य प्रचारभन्दा गन्तव्यको आफ्नै ब्रान्ड (पहिचान) बनाउनुपर्नेमा जोड दिए भने पर्यटन बोर्डका कार्यवाहक निर्देशक रोहिणी खनालले टिकटक र डिजिटल बजारीकरणमार्फत चन्द्रागिरि पदमार्गको प्रभावकारी प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा चन्द्रागिरि हिल्सका निमित्त महाप्रबन्धक प्रबिन्द्र सिंहले केबलकार, रिसोर्ट र नयाँ पर्यटकीय पूर्वाधारका साथै स्वास्थ्य पर्यटनका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरे। हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख काजीमान प्याकुरेलले चन्द्रागिरि क्षेत्रको ऐतिहासिक महत्वलाई दृष्टिगत गर्दै नगरस्तरीय सङ्ग्रहालय बनाउन उपयुक्त हुने सुझाव दिए। अर्का सरोकारवाला हरिशरण थपलिया र भीम लामाले ग्रामीण पर्यटन, घरबास (होमस्टे) विकास र पदयात्राको संयोजनमार्फत यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने औँल्याए।

स्वास्थ्य पर्यटन र सांस्कृतिक दस्तावेजीकरण

कार्यक्रममा सहभागीहरूलाई मानसिक शान्ति र स्वास्थ्य पर्यटनको नयाँ अनुभूति दिलाउन विशेष ध्यान तथा ध्वनि उपचार (साउन्डिङ थेरापी) सत्र समेत सञ्चालन गरियो। स्थानीय संस्कृति अनुसन्धानकर्ता सागर श्रेष्ठले ढुंगेधारा, आदिनारायण र महालक्ष्मी मन्दिर जस्ता ऐतिहासिक सम्पदाहरूको दस्तावेजीकरणमा ढिलाइ गर्न नहुने बताए। चन्द्रागिरि–थानकोटको प्राचीन मार्ग र सांस्कृतिक विरासतलाई एकीकृत रूपमा प्रवर्द्धन गर्दै यस क्षेत्रलाई उच्च मूल्ययुक्त र समुदायमैत्री पर्यटकीय गन्तव्य बनाउने साझा प्रतिबद्धताका साथ कार्यक्रम समापन भयो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।