हवाई इन्धनको मूल्य घट्नासाथ हवाई भाडा घटिसक्दा पनि सडक यातायातको भाडा नघट्दा सर्वसाधारण नागरिक मारमा परेका छन्।

नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको थियो। त्यसैगरी, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ४० रुपैयाँले मूल्य कटौती गरिएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको आधारमा निगमले नेपाली उपभोक्तालाई राहत दिने गरी यो निर्णय गरेको हो।
हवाई क्षेत्रमा तत्काल प्रभाव
हवाई इन्धनको मूल्य घट्नासाथ नेपाल नागरिक उड्डयन प्राधिकरणले सक्रियता देखाउँदै बुधबार नै हवाई भाडा समायोजन गर्न सबै वायुसेवा कम्पनीहरूलाई पत्राचार गरेको थियो। प्राधिकरणको निर्देशनलगत्तै निजी हवाई सेवा प्रदायकहरूले नयाँ र घटाइएको भाडादर सार्वजनिक गरिसकेका छन्। जसका कारण हवाई यात्रुहरूले तत्कालै राहत महसुस गरेका छन्।
सार्वजनिक यातायातमा भने आलटाल
हवाई क्षेत्रमा मूल्य समायोजन भइसक्दा पनि सार्वजनिक यातायात (बस, माइक्रो, ट्रक) को भाडा घटाउन भने सरोकारवाला निकायले चासो देखाएका छैनन्। पेट्रोल र डिजेलमा ३० रुपैयाँसम्मको ठूलो गिरावट आउँदा पनि यातायात व्यवस्था विभाग र पूर्वाधार विकास मन्त्रालयले भाडा समायोजनको प्रक्रिया अघि नबढाउँदा उपभोक्ताहरू पुरानै महँगो भाडा तिर्न बाध्य छन्।
व्यवसायीहरूको दोहोरो चरित्र
इन्धनको मूल्य थोरै मात्र बढ्दा पनि 'स्वचालित भाडा प्रणाली'को माग गर्दै मन्त्रालय र विभागमा दबाब दिन पुग्ने यातायात व्यवसायीहरू अहिले भने मौन छन्। मूल्य वृद्धि हुँदा तत्कालै भाडा बढाउनुपर्ने अडान राख्ने व्यवसायीहरू मूल्य घट्दा भने भाडा घटाउन तयार देखिएका छैनन्। व्यवसायीहरूको यो मौनता र सरकारी निकायको निष्क्रियताले गर्दा बजारमा सिन्डिकेटको झल्को देखिएको उपभोक्ता अधिकारकर्मीहरूको आरोप छ।
नियमनकारी निकायको उदासिनता
नियमअनुसार इन्धनको मूल्यमा ५ प्रतिशतभन्दा बढी उतारचढाव भएमा भाडा समायोजन गर्नुपर्ने प्रावधान छ। अहिलेको मूल्य कटौती ५ प्रतिशतभन्दा धेरै हुँदाहुँदै पनि यातायात व्यवस्था विभागले ठोस कदम चाल्न सकेको छैन। पूर्वाधार विकास मन्त्रालय र विभागले तत्काल पहल नगर्दा सार्वजनिक यातायात प्रयोग गर्ने निम्न र मध्यम वर्गीय नागरिकहरू प्रत्यक्ष मारमा परेका छन्।
मारमा यात्रुहरु
सार्वजनिक यातायातको भाडा समायोजन नहुँदा त्यसको प्रत्यक्ष मार आम यात्रुहरुमा परेको छ । ठमाडौंको रत्नपार्कमा भेटिएका कुलेश्वरका अर्जुन सुवेदीले भने, ‘पेट्रोल र डिजेलको मूल्य यति धेरै घटिसक्यो तर बसको सहचालकले अझै पुरानै भाडा माग्छन्। सरकारले हवाई जहाज चढ्ने धनीका लागि मात्रै सोच्ने हो कि हामी बस चढ्ने गरिबका लागि पनि ।’
अहिलेको अवस्थामा तत्काल भाडा समायोजन गरी आम नागरिकलाई राहत दिनु सरकारको मुख्य जिम्मेवारी देखिएको छ। अन्यथा, इन्धनको मूल्य घट्नुको लाभ केवल व्यवसायीको खल्तीमा मात्र जाने र सर्वसाधारण सधैँ ठगिने अवस्था रहने निश्चित छ।