गोल्यान समूहले बनाउने भयो ३०६ मेगावाटको माथिल्लो मुगु जलविद्युत आयोजना, उत्पादन अनुमतिको प्रक्रिया सुरु

Jul 07, 2026 02:34 PM Merolagani



व्यावसायिक घराना गोल्यान समूहले कर्णाली प्रदेशको मुगुमा निर्माण गर्न लागेको ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु जलविद्युत आयोजनाले उत्पादन अनुमतिको प्रक्रिया अघि बढाएको छ ।

समूहको सहायक कम्पनी एलिभेट इनर्जीमार्फत अघि बढाइएको यो अर्धजलाशययुक्त आयोजना निजी क्षेत्रले आँट गरेको ठूला आयोजनामध्ये एक हो ।

कम्पनीले २०७७ सालमा सर्भे लाइसेन्स प्राप्त गरी अध्ययन सुरु गरेको थियो । मुगुको मुगुम कर्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिका भई बहने मुगु कर्णाली नदीको पानी उपयोग गर्ने गरी यो आयोजना प्रस्ताव गरिएको छ ।

आयोजनाको सम्भाव्यता अध्ययनका लागि अमेरिकी बैंक ‘डेभलपमेन्ट फाइनान्स कर्पोरेसन’ले सन् २०२२ मा अनुदान उपलब्ध गराएको थियो । सोही अनुदान अन्तर्गत जर्मनीको प्रख्यात परामर्शदाता कम्पनी ‘ट्र्याकबेल इन्जिनियरिङ’ ले अहिले आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालका अनुसार आयोजनास्थलमा करिब ४ किलोमिटर ड्रिलिङ र ४०० मिटरको परीक्षण सुरुङ खनेर चट्टान परीक्षणको काम सम्पन्न भइसकेको छ । यस्तै, पुल्चोक इन्जिनियरिङ क्याम्पस नजिकै रहेको हाइड्रोल्याबमा आयोजनाको हेडवक्सको मोडेल अध्ययन भइरहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया विगत तीन वर्षदेखि जारी छ । आयोजना निकुञ्जको कोर क्षेत्रमा नपरी 'बफर जोन'मा मात्र पर्ने भए तापनि नीतिगत अस्पष्टता र कर्मचारीतन्त्रको ढिलासुस्तीका कारण वातावरणीय अध्ययन स्वीकृत हुन केही समय लागेको कम्पनीले जनाएको छ ।

हाल विद्युत् विकास विभागले आयोजनाको उत्पादन अनुमति पत्रका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । सूचनाको अवधिभित्र कुनै दाबी-विरोध वा नकारात्मक प्रतिक्रिया नआएमा विभागले कम्पनीलाई निर्माणका लागि अन्तिम अनुमति पत्र प्रदान गर्नेछ ।

गोल्यान समूहले पछिल्लो समय ऊर्जा क्षेत्रमा आफ्नो लगानीलाई तीव्र बनाएको छ । हाल कम्पनीको पोर्टफोलियोमा जलविद्युत र सौर्य ऊर्जा गरी ७०० मेगावाट भन्दा बढीका आयोजनाहरू छन् ।

समूहले ३६ मेगावाटको बलेफी हाइड्रोपावर सञ्चालनमा ल्याइसकेको छ भने ४६ मेगावाटको अपर बलेफी निर्माणाधीन छ । जलविद्युततर्फ मात्रै कम्पनीको ५२० मेगावाटको पोर्टफोलियो रहेको छ । यस्तै, सौर्य ऊर्जातर्फ २० मेगावाट सञ्चालनमा आइसकेको छ भने नेपाल विद्युत प्राधिकरणको प्रतिस्पर्धाबाट १७० मेगावाटको कोटा प्राप्त गरेको छ, जसमा रोल्पामा ५० मेगावाटको ठूलो सोलार प्लान्ट निर्माणको तयारीमा छ ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ