प्रधानमन्त्री र गभर्नरको भेटले शेयर बजार ८० अंकले बढेको हो ? लगानीकर्ताकाे तर्क यस्तो छ

Jul 19, 2026 05:24 AM Merolagani



सुवास निरौला 
नयाँ आर्थिक वर्ष २०८१/८२ को सुरुवातसँगै नेपालको शेयर बजार (नेप्से) मा ठूलो उछाल आएको छ। साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ७९.७४ अङ्कले बढेर २,६७७.५४ विन्दुमा पुगेको छ। 

साढे ४ अर्बभन्दा बढीको कारोबार भएको आजको बजारमा प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीचको भेटवार्ताले मुख्य 'ट्रिगर'को काम गरेको देखिएको छ।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुलेलले बजार बढ्नुमा प्राविधिक र मनोवैज्ञानिक दुवै कारण रहेको बताएका छन्। "असारको क्लोजिङ सकिएको र पुरानो आर्थिक वर्षको सबै काम सकिएकाले पनि बजारमा प्रभाव देखिएको हो। साउन लागेपछि बजार बढ्छ भन्ने एउटा साझा मनोविज्ञान सधैँ रहन्छ, त्यही मनोविज्ञानले काम गरेको हुनुपर्छ। अर्कोतर्फ, बजार निकै घटेको अवस्था थियो, त्यसैले यो 'ब्याक' (बाउन्स ब्याक) भएको पनि हुन सक्छ," फुलेलले भने। 

एबिसी ब्रोकर (नं. १७) का कार्यकारी अध्यक्ष नितेस अग्रवालले बजार बढ्नुमा नीतिगत आशा र केही राजनीतिक हल्लाले भूमिका खेलेको बताएका छन्। "हिजो प्रधानमन्त्रीज्यूले गभर्नर साबलाई भेट्नुभएको थियो। शेयर बजारप्रति अलि लचिलो बन्ने कुरा उहाँले गर्नुभयो भन्ने आयो, त्यसले एउटा सकारात्मक माहोल बनायो। अर्कोतर्फ, बजारमा एउटा यस्तो हल्ला पनि चलिरहेको छ कि— 'प्रधानमन्त्रीले अब अर्थमन्त्री फेर्दै हुनुहुन्छ।' यो हल्लाले पनि बजारमा कता-कता प्रभाव पारेको जस्तो देखिन्छ।" मार्जिन कारोबारको तयारी गरिरहेका अग्रवालले आजको वृद्धिलाई यसरी विश्लेषण गरे।

 

चर्चित लगानीकर्ता निर्मल प्रधानका छोरा निश्चल प्रधानले पछिल्लो समय मिडियाले लगानीकर्ताको पक्षमा सिर्जना गरेको वातावरण र प्रधानमन्त्रीको सक्रियतालाई मुख्य कारण मानेका छन्। "मिडियाहरूले एकपछि अर्को गर्दै लगानीकर्ताको समस्याका बारेमा लेखिदिएपछि मान्छेहरूले बल्ल 'स्टोरी' बुझ्न थाले। यो एउटा डोमिनो इफेक्ट जस्तो भयो। आजको वृद्धिको मुख्य कारण भनेको— बालेन (प्रधानमन्त्री)ले शेयर बजारका बारेमा बुझ्ने भनेर गभर्नरसँग भेटेको न्यूज नै हो। त्यसले लगानीकर्तालाई ठूलो राहत दियो। तर, बजार सधैँ यसरी नै बढिरहनका लागि बजारमा पैसा (तरलता) पनि आउनुपर्छ। पैसा नआईकन यो सस्टेन (दिगो) हुन सम्भव छैन," उनले भने। 

प्रधानमन्त्री र गभर्नरबीच के भएको थियो ?

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच प्रधानमन्त्री कार्यालयमा करिब एक घण्टा छलफल भएको थियो। प्रधानमन्त्री शाहले शेयर बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। उनले मौद्रिक नीतिमा रहेका अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरण सहज बनाउन सुझाव दिएका थिए। जवाफमा गभर्नर पौडेलले राष्ट्र बैंकले नीति लचिलो बनाउने र कसैलाई अप्ठ्यारो पार्ने नीति नलिने प्रतिबद्धता जनाएका थिए।

आजको ७९ अङ्कको वृद्धिले गत वर्षको निराशालाई चिर्ने संकेत गरेको छ। २५९ कम्पनीको शेयर मूल्य बढ्नु र ४ अर्ब ५७ करोडको कारोबार हुनुले नयाँ आर्थिक वर्षको सुरुवात लगानीकर्ताका लागि सुखद रहने अपेक्षा गरिएको छ। धितोपत्र बोर्डले सार्वजनिक गरेको १० वर्षे मार्गचित्र र ब्याजदरमा देखिएको सहजताले पनि लगानीकर्ताको आत्मविश्वास बढाउन मद्दत पुगेको विश्लेषण गरिएको छ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।