घरजग्गा कारोबार ‘असारमा उछाल’: जेठको तुलनामा राजस्व संकलन १२८ प्रतिशतले वृद्धि, उपत्यकाका मालपोतमा चाप

Jul 19, 2026 12:56 PM Merolagani



सुवास निरौला
नेपालको घरजग्गा कारोबारमा आर्थिक वर्षको अन्तिम महिना असारमा अस्वाभाविक 'उछाल' आएको छ। 

वैशाख र जेठ महिनामा सुस्त रहेको घरजग्गा बजार असार महिनामा आइपुग्दा राजस्व संकलन र कारोबार सङ्ख्याका आधारमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको जेठ र असार महिनाको तुलनात्मक तथ्याङ्क अनुसार, जेठको तुलनामा असारमा कुल राजस्व संकलनमा मात्रै करिब १२८ प्रतिशतको बढोत्तरी देखिएको छ।

कुल राजस्व संकलन: जेठ ५.२४ अर्ब, असार ११.९४ अर्ब
तथ्याङ्क अनुसार २०८३ जेठ महिनामा देशभरका मालपोत कार्यालयहरूबाट कुल ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ राजस्व संकलन भएको थियो। तर, असार महिनामा यो रकम ह्वात्तै बढेर ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ पुगेको छ। यो तथ्याङ्कले जेठ महिनाको तुलनामा असारमा ६ अर्ब ७० करोड ४७ लाख रुपैयाँ बढी राजस्व सरकारी कोषमा दाखिला भएको देखाउँछ। आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्च बढ्ने र बैंकिङ प्रणालीमा तरलता सहज हुने अपेक्षाका साथै वर्षको अन्तिममा कारोबार राफसाफ गर्ने प्रवृत्तिका कारण असारमा यस्तो वृद्धि देखिएको हो।

उपत्यकाका प्रमुख कार्यालयहरूको तुलनात्मक अवस्था
काठमाडौँ उपत्यकाका मुख्य मालपोत कार्यालयहरूमा असार महिनामा कारोबारको चाप उच्च देखिएको छ। रजिष्ट्रेशन दस्तुरको तथ्याङ्कलाई आधार मान्दा प्रमुख कार्यालयहरूको अवस्था यस प्रकार छ:

लगनखेल (ललितपुर): जेठ महिनामा लगनखेल मालपोतले २६ करोड २८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन गरेकोमा असारमा यो करिब १५४ प्रतिशतले बढेर ६६ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

कलङ्की (काठमाडौँ): जेठ महिनामा १७ करोड ८ लाख रुपैयाँ दस्तुर संकलन गरेको कलङ्की कार्यालयले असारमा ५२ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ। यो जेठको तुलनामा झन्डै तीन गुणा (२०८ प्रतिशत) को वृद्धि हो।

डिल्लीबजार (काठमाडौँ): डिल्लीबजार मालपोतमा जेठ महिनामा २० करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएकोमा असारमा ४७ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

चावहिल (काठमाडौँ): जेठ महिनामा १६ करोड ७१ लाख रुपैयाँ संकलन भएकोमा असारमा ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

पूँजीगत लाभ करमा भारी वृद्धि
घरजग्गा बिक्री गर्दा विक्रेताले तिर्ने पूँजीगत लाभ करको तथ्याङ्कले असारमा महँगा र धेरै सङ्ख्यामा जग्गा जमिनको किनबेच भएको पुष्टि गर्छ। जेठ महिनामा कलङ्की मालपोतबाट १३ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभ कर संकलन भएकोमा असारमा उक्त कार्यालयले ४५ करोड २ लाख रुपैयाँ संकलन गरेको छ। त्यस्तै, ललितपुरको लगनखेल कार्यालयले जेठ महिनामा १३ करोड २८ लाख रुपैयाँ लाभ कर संकलन गरेकोमा असारमा ३३ करोड ३१ लाख रुपैयाँ संकलन गरेको छ। पुँजीगत लाभ करमा देखिएको यो वृद्धिले बजारमा 'रियल इस्टेट' क्षेत्रको सम्पत्ति हस्तान्तरण निकै तीव्र गतिमा भएको सङ्केत गर्दछ।

मोफसलका सहरहरूको रुझान
काठमाडौँ उपत्यका बाहिरका प्रमुख सहरहरूमा पनि असार महिनामा कारोबारको ग्राफ उकालो लागेको छ।

  • कास्की (पोखरा): जेठ महिनामा ७ करोड ८५ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको पोखरामा असारमा २० करोड ६७ लाख रुपैयाँ संकलन भएको छ।

  • चितवन: चितवन मालपोतले जेठ महिनामा ९ करोड ८० लाख रुपैयाँ संकलन गरेकोमा असारमा १८ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ।

  • इनरुवा (सुनसरी): जेठमा ७ करोड २७ लाख रुपैयाँ संकलन भएकोमा असारमा १४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

यो तथ्याङ्कले केवल काठमाडौँमा मात्र नभई देशका प्रमुख व्यापारिक केन्द्रहरूमा पनि घरजग्गाको माग र आपूर्तिमा असार महिनामा ठूलो परिवर्तन आएको देखिन्छ।

सेवा कर र अन्य दस्तुरमा पनि बढोत्तरी
राजस्वका अन्य शीर्षकहरूमा पनि असार महिना निकै बलियो देखिएको छ। जेठ महिनामा देशभरका कार्यालयहरूले २८ करोड ६६ लाख रुपैयाँ सेवा कर संकलन गरेका थिए भने असार महिनामा सेवा कर मात्रै ५५ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ। बागमती सभ्यता शुल्क, डोर सुविधा शुल्क र मुख्यमन्त्री स्वच्छता अभियान जस्ता अतिरिक्त शीर्षकमा पनि असार महिनामा संकलित रकम जेठको तुलनामा दोब्बरभन्दा बढी छ।

जेठ र असार महिनाको यो तुलनात्मक तथ्याङ्कले नेपालको घरजग्गा बजार अझै पनि 'सिजनल' र 'आर्थिक वर्षको अन्त्य' मा बढी केन्द्रित रहेको देखाउँछ। जेठसम्म सुस्त देखिएको बजार असारमा आक्रामक रूपमा बढ्नुमा नीतिगत सहजता वा बैंकिङ कर्जाको उपलब्धताभन्दा पनि सरकारी खर्चको प्रवाह र आर्थिक वर्षको राफसाफ मुख्य कारण रहेको विश्लेषण गर्न सकिन्छ।

कुल ११ अर्ब ९४ करोड राजस्व संकलन हुनुले घरजग्गा क्षेत्र अझै पनि नेपाल सरकारको राजस्वको मुख्य स्रोतका रूपमा कायम रहेको पुष्टि गर्दछ। जेठको तुलनामा असारमा कारोबार र राजस्वमा देखिएको यो १२८ प्रतिशतको वृद्धिले आगामी वर्षको बजारको दिशा कस्तो हुन्छ भन्ने कुरामा पनि अर्थ राख्नेछ। यद्यपि, यो वृद्धि केवल असारको अन्तिम चाप मात्र हो वा बजार सुधारको सङ्केत हो भन्ने कुरा साउनको तथ्याङ्क आएपछि मात्र प्रष्ट हुनेछ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।