ब्याज आम्दानी घटेपनि आरएसडिसी लघुवित्तको नाफा बढ्यो

Jul 21, 2026 09:45 AM Merolagani



थोक कर्जा प्रवाह गर्ने आरएसडीसी लघुवित्त वित्तीय संस्था (RSDC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेपनि खुद नाफा भने बढेको छ।

गत असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यस्म्ममा लघुवित्तले १० करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो।

अघिल्लो आर्थिक वर्ष २२ करोड ३६ लाख रहेकोमा लघुवित्तको खुद ब्याज आम्दानी, गत आर्थिक वर्ष घटेर १९ करोड १५ लाख रुपैयाँमा झरेको छ। खुद कर्जा प्रवाहमा आएको संकुचनका कारण ब्याज आम्दानी घटेको हो।

लघुवित्तको सञ्चालन नाफा र खुद नाफा बढ्नुमा ५ करोड ५८ लाख रुपैयाँबराबरको सम्भावित कर्जा नोक्सानी व्यवस्था रिभर्स हुनु अर्थात फिर्ता हुनु मुख्य कारण बनेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म लघुवित्तको कुल वितरणयोग्य नाफा ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ। यस अनुसार लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४ पैसा रहेको छ।

अघिल्लो आर्थिक वर्ष ६.१७ प्रतिशत रहेको ‘कस्ट अफ फन्ड्स’ गत आर्थिक वर्ष घटेर ४.८७ प्रतिशतमा झरेकाे छ। जसले गर्दा लघुवित्तकाे ब्याज खर्च घटेकाे छ। लघुवित्तको बेस रेट पनि ६.९६ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा झरेको छ, जसले थोक कर्जा लिने साझेदार लघुवित्त संस्थाहरूलाई सस्तो दरमा कर्जा उपलब्ध गराउन मद्दत पुगेको छ।

 

अघिल्लो आर्थिक वर्ष ३.३४ प्रतिशत रहेको निष्कृय कर्जा सामान्य बढेर ३.९२ प्रतिशत पुगेको छ। तर खुद निष्कृय कर्जा ०.३६ प्रतिशतमा सीमित हुनु र प्रावधान कभरेज ११६.७० प्रतिशत हुनुले सम्भावित कर्जा जोखिम न्यूनीकरणमा लघुवित्त बलियो स्थितिमा रहेको देखाउँछ।