गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सो अवधिसम्मको खुद नाफा (८७ करोड ५० लाख रुपैयाँ) को तुलनामा २५.३६ प्रतिशत कम हो।
लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार ३९६ रुपैयाँ कायम भएको छ। त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब २७ करोड रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा खुद नाफा घटेतापनि सञ्चित नाफा र नियमनकारी समायोजनका कारण लघुवित्तको लाभांश दिने क्षमता उच्च रहेको छ। नियमनकारी समायोजनपश्चात् असार मसान्तसम्म लघुवित्तको कुल वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ रहेको छ।
लघुवित्तको चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ३३ रुपैयाँ ४६ पैसा कायम भएको छ, जसले शेयरधनीहरूलाई चालु आर्थिक वर्षमा पनि आकर्षक लाभांश दिन सक्ने बलियो आधार प्रदान गर्दछ।
अघिल्लो वर्षको असार मसान्तको तुलनामा लघुवित्तको वित्तीय आधार र चुक्ता पूँजी विस्तार भएको छ। लघुवित्तको चुक्ता पूँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँबाट बढेर ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ रहेको छ। लघुवित्तले साना किसान तथा अन्य सहकारीहरूलाई प्रवाह गरिएको नेट कर्जा ३४ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३५ अर्ब ३९ करोड २९ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको कुल सम्पत्ति ४१ अर्ब ५० करोड रुपैयाँबाट बढेर ४१ अर्ब ९९ करोड २४ लाख रुपैयाँ पुगेको छ।
