‘बिजनेस इन्कुबेटर’ बन्दै मिस नेपालः र्‍याम्पको ‘सेक्सी पोज’ लाई स्टार्टअप र ब्रान्ड निर्माणको प्लेटफर्ममा यसरी रुपान्तरण गर्दैछन् सुन्दरीहरु

Aug 02, 2026 03:26 PM Mero lagani



हङकङकी स्थायी वासिन्दा दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६ बनिन ।  

त्यसले उनको परिचय फेरिएको छ र अब उनी औपचारिकरुपमा ‘ग्ल्यामर उद्योग’ प्रवेश गरेकी छन् ।

तर, उनको ‘क्यारियर’ पहिले नै ‘सेट’ भैसकेको छ, अर्थात उनी पहिले नै व्यवसायी हुन् । अब मिस नेपालको रुपमा रंगीन दुनियाँमा प्रवेश गरिसकेपछि उनले व्यवसायिक क्षेत्रलाई कसरी अगाडि बढाउँछिन् वा ‘ग्ल्यामर उद्योग’ लाई नै आफ्नो ‘क्यारियर’ बनाउँछिन् ? त्यो उनको कुरा भयो ।

नेपालमा मिस नेपाल प्रतियोगिता शुरु भएको ३ दशक नाघेको छ । केही वर्ष अगाडिसम्म यो प्रतियोगितालाई ‘महिला सुन्दरताको खरिद विक्री गर्ने अखडा’को रुपमा चित्रण गर्ने गरिन्थ्यो । त्यहीकारण यस्ता प्रतियोगिताको विरुद्ध ठूलो जनमत थियो । कैंयौ पटक त त्यस्ता प्रतियोगिता रोक्नको लागि सार्वजनिकरुपमै प्रतिकार समेत गरियो ।

पछिल्ला केही वर्ष यता त्यो क्रम रोकिएको छ । अचेल मिस नेपाल केवल सुन्दरता, व्यक्तित्व र क्याटवाक प्रदर्शन गर्ने थलोमा मात्र सीमित छैन । यो नेपाली महिलाहरूका लागि एक प्रभावी व्यावसायिक आधारशिला (बिजनेस इन्कुबेटर) को रूपमा रूपान्तरण भइरहेको छ। प्रतिस्पर्धाको मञ्चबाट निस्किएका प्रतिभाहरूले कर्पोरेट क्षेत्र,नवीन स्टार्टअप, सामाजिक उद्यमशीलता र अन्तर्राष्ट्रिय अध्ययनका माध्यमबाट नेपाली अर्थतन्त्रमा आफ्नो दरिलो उपस्थिति जनाउन थालेका छन्। कतिपय उद्यमी वा अन्य क्षेत्रमा प्रभाव जमाएका युवतीहरु पनि आफूलाई सार्वजनिकरुपमा ‘एक्सपोजर’ दिन मिस नेपालमा भाग लिने गरेका छन् । यस वर्षकी मिस नेपाल ढकाल, २०७० कि मिस नेपाल रहेकी दन्तरोग विशेषज्ञ डा. इशानी श्रेष्ठ, २०७५ कि मिस नेपाल रहेकी इन्जनियर शृङ्खला खतिवडा त्यसका उदाहरण हुन् । त्यस्तै कतिपय सुन्दरीहरु मिस नेपाल बनेपछि व्यवासायिक क्षेत्रमा प्रवेश गरेका छन् र सफल पनि भएका छन् भने कतिपय भने सार्वजनिक जीवनबाटै पलायन भएका छन् ।

र्याम्पको ‘सेक्सी पोज’ अर्थात ग्ल्यामरबाट उद्यमशीलता तर्फको यात्रा

मिस नेपालको मञ्च कसरी व्यावसायिक इन्कुबेटर बन्यो त ? यसका पछाडि मुख्य तीनवटा कारण रहेको विश्लेषकहरु बताउँछन् । ती कारणहरु हुन्ः

कर्पोरेट नेटवर्क र ब्रान्ड भ्यालु

मिस नेपाल प्रतियोगिताले सहभागीहरूलाई देशका शीर्ष कर्पोरेट घराना, लगानीकर्ता, मिडिया र नियामक निकायहरूसँग प्रत्यक्ष सम्पर्क गराउँछ। विजेता वा सहभागी भइसकेपछि निर्माण हुने उच्च पर्सनल ब्रान्डिङले उनीहरूलाई पछि आफ्नो नयाँ व्यवसाय सुरु गर्दा लगानीकर्ता खोज्न र बजारमा ब्रान्ड सिर्जना गर्न ठूलो मद्दत पुर्याउँछ।

Beauty with a Purpose को आर्थिक ढाँचा

अन्तर्राष्ट्रिय मञ्च (विशेष गरी मिस वर्ल्ड) मा प्रस्तुत गरिने सामाजिक आयोजनाहरूले प्रतिस्पर्धीहरूलाई केवल समाजसेवामा मात्र नभई सामाजिक उद्यमशीलता (Social Entrepreneurship) मा सोच्न प्रेरित गर्छन्। उनीहरूले दुर्गम क्षेत्रका समस्या समाधानका लागि व्यावसायिक र आत्मनिर्भर मोडलहरू तयार पार्ने अभ्यास यहीँबाट सिक्छन्।

उच्च शिक्षा र व्यावसायिक पृष्ठभूमिका प्रतिभाको आगमन

पछिल्ला वर्षहरूमा मिस नेपालमा सहभागी हुने सुन्दरीहरू पहिले नै उच्च शिक्षा हासिल गरिसकेका हुन्छन्। ग्ल्यामरको चमकभन्दा पनि उनीहरूले यो मञ्चलाई आफ्नो ज्ञान र योजनालाई वृहतरुप दिने माध्यमका रूपमा प्रयोग गर्ने गरेका छन्।

सफल उद्यमी बनेका पूर्व मिस नेपालहरू 

पहिलो मिस नेपाल हुन्, रुबी राणा शाह । १९९४ मा आयोजित प्रतियोगीताबाट ताज पहिरिएकी उनी अहिले व्यवसायमा सक्रिय छन् । मिस नेपालपछि उनले केहि चलचित्रमा काम गरिन् । केहि समय मोडलिङ समेत गरिन् । तर, धेरै समय टिक्न सकिनन् । पछिल्लो समय उनि व्यवसायमा सक्रिय छिन् । कुपण्डोलमा उनको रुविज कलेक्सन नामक महिलाका पोशाकहरु सम्वन्धि पसल चलाएकी छन् ।
सन् १९९६ मा मिस नेपाल पुनम घिमिरे अहिले आफनै व्यवसाय संचालन गरेर बसेकी छिन् । मिस नेपाल बने लगत्तै अध्ययनका लागि अमेरिका पुगेकी उनी १५ वर्षपछि नेपाल फर्केकी हुन । हाल उनी अम्बरकार सफ्टवेयर प्रालिको सञ्चालक / व्यवस्थापक छिन् ।

सन् २००० मा मिस नेपालको उपाधि जितेपछि निरन्तर सक्रिय रहेकी उषा खड्की फेसन डिजाइनरका रूपमा ब्यस्त छन् । उनको कुपण्डोलमा आफ्नै बुटिक छ ।  उषा अहिले ब्यवसायमा जमेर लागेकी छन् ।

सन् २००२ की मिस नेपाल माल्भिका सुब्बाले यो अवधिमा म्युजिक भिडियो, चलचित्र, विज्ञापन, फेसन शोसहित बिभिन्न विधामा काम गरिन् । मिस नेपाल घोषणा भएका अन्य सदस्य भन्दा बेग्लै किसिमको शाख बनाएकी माल्भिका अझै पनि धेरै युवतीहरुको आइडियल लेडिको रुपमा चर्चित छन् ।

२२ वर्षको उमेरमा सन् २००३ मा मिस नेपालको उपाधि जित्न सफल प्रिति सिटौला केहि वर्षपछि अध्ययनका लागि अमेरिका गइन् । तर, पछि फर्किएर उनि काठमाडौंमा आफ्नै व्यवसायमा सक्रिय भइन् ।

सन् २००९ मा मिस नेपाल बनेकी जेनिशा मोक्तान अहिले कर्पोरेट जिम्मेवारीमा छिन । उनी इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स् (आईएमएस) ग्रुपको मानव संशाधन विभाग प्रमुख हुन । कम्पनीमा उनकै पहलमा मानव संशाधन विभाग स्थापना भएको हो । उनले व्यवसायी दिकेश मल्होत्रासँग घरजम गरेकी छिन ।

काठमाडौँ विश्वविद्यालयबाट एमबीए गरेकी मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ व्यापार र व्यवस्थापनमा उत्तिकै पकड राख्छिन् । उनले आफ्नै इभेन्ट म्यानेजमेन्ट, ब्रान्ड कन्सल्टेन्सी र कर्पोरेट ट्रेनिङ कम्पनीमार्फत व्यावसायिक क्षेत्रमा लगानी गरेकी छिन्। उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूका लागि ब्रान्ड स्ट्र्याटेजिस्टका रूपमा काम गर्दै आएकी छिन्।

पुलचोक क्याम्पसकी ब्याच टपर आर्किटेक्ट शृङ्खला खतिवडा २०१८ कि मिस नेपाल हुन् । उनले विश्वविख्यात हार्भड युनिभर्सिटीबाट सहरी विकासमा स्नातकोत्तर गरेकी छिन्। उनले गाथा (Gaatha) नामक आर्किटेक्चरल तथा डिजाइन फर्म र सामाजिक संस्था वन होम फाउन्डेसनमार्फत काम गरिरहेकी छिन् ।

उनले दिगो सहरी योजना, स्थानीय सामग्रीको प्रयोग र वास्तुकलाका क्षेत्रमा व्यावसायिक परामर्श तथा निर्माणका कामहरू गर्दै प्राविधिक उद्यमशीलताको नेतृत्व गरिरहेकी छिन्। उनी एनपिएलको फ्रेन्जचाइज टोली काठमाण्डौ गोर्खाजकी मालिक पनि हुन् ।

मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले HattiHatti नामक सामाजिक उद्यमको नेतृत्व गर्दै आएकी छिन्। यस संस्थाले सीमान्तकृत र आर्थिक रूपमा पछाडि पारिएका महिलाहरूलाई टेलरिङ तथा उत्पादनको तालिम दिएर दिगो फेसनका कपडाहरू उत्पादन गर्छ र उनीहरूलाई आत्मनिर्भर बनाउँछ।

अष्ट्रेलियाको अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट BBA गरेकी मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ मिस नेपाल हुनुअघि अष्ट्रेलियाको प्रतिष्ठित कमनवेल्थ बैंक अफ अष्ट्रेलियामा दुई वर्षभन्दा बढी समय लेखापरीक्षण र वित्तीय क्षेत्रमा काम गरेकी थिइन्। उनी रास्वपाकी साँसदसमेत हुन् ।

सन् २०२० मा उनले परम्परागत नेपाली मिठाई गुँदपाक र पुस्टकारीलाई आधुनिक तथा प्रिमियम ढाँचामा ब्रान्डिङ गर्दै माक्कुसे नामक हस्तकला तथा मिठाई ब्रान्ड सुरु गरिन्।

माक्कुसेले स्थानीय कृषक (घिउ र खोया उत्पादक) र हस्तकला कालिगडहरूलाई रोजगारी दिँदै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएको छ। अनुष्का दक्षिण एसियाली महिला उद्यमीहरूको सूचीमा समेत पर्न सफल भएकी छन्। उनी सन् २०२२ मा इन द क्याप म्यागजिनले तयार पारेको दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा तेस्रो स्थानमा परेकी थिइन छिन् ।




प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

Jul 29, 2026 05:40 PM

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् ।