विद्युत बिक्री आम्दानी बढेपछि दिव्यश्वरी हाइड्रोपावर नाफामा

Aug 05, 2026 12:16 PM Merolagani



दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्ष घाटामा रहेको कम्पनीले गत आर्थिक वर्ष आम्दानी बढाउँदै नाफामा आकर्षक सुधार हासिल गरेको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ६८ लाख ६३ हजार रुपैयाँ घाटामा रहेकोमा यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४५ लाख ५५ हजार खुद नाफा कमाउन सफल भएको छ।

कम्पनीको विद्युत बिक्री आम्दानी समीक्षा अवधिमा १६.११ प्रतिशत बढेर १० करोड ४४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ३८.२६ प्रतिशतले बढेर ५ करोड ५० लाख ६४ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय खर्च अघिल्लो आर्थिक वर्षको ४ करोड ६१ लाख रुपैयाँबाट घटेर ३ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जसले नाफा उकास्न मुख्य सहयोग पुर्‍याएको छ।

नाफामा आएको सुधारसँगै कम्पनीको सञ्चित घाटा घट्दै गएको छ र कुल इक्विटीमा सुधार आएको छ। कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ। कम्पनीको सञ्चित घाटा अघिल्लो वर्षको २५ करोड ६४ लाख बाट घटेर २४ करोड १८ लाख रुपैयाँमा झरेको छ। सञ्चित घाटा कम भएसँगै कम्पनीको कुल इक्विटी ७५ लाख ६९ हजार रुपैयाँबाट बढेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको दीर्घकालीन ऋण अघिल्लो आर्थिक वर्षको ५२ करोड ८० लाख रुपैयाँबाट बढेर ५७ करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल सम्पत्तिको आकार ७५ करोड ४२ लाख रुपैयाँ रहेको छ।

नदीमा पानीको बहाव कम हुँदा आयोजनाबाट हुने विद्युत उत्पादनमा असर परेको छ। साथै, विगतमा ३३ केभी प्रसारण लाइनको क्षमतामा आएको समस्याले गर्दा उत्पादनमा कमी आई आम्दानी प्रभावित भएको थियो। विगतको आम्दानी कमीका कारण बैंकको सावाँ ब्याज समयमा भुक्तानी गर्न धौ–धौ परेको र हर्जाना ब्याज थपिएका कारण खर्च बढेको छ। आयोजनाको पूर्व ठेकेदारसँगको विवादमा काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा विचाराधीन रहेको छ। त्यस्तै, अर्को एउटा मुद्दा पाटन उच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।