जसमा कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते मात्र २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार हात पारेका छन् । भाग्यशाली विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ । विभागका महानिर्देशक भीष्मराज भूसालका अनुसार नियमानुसार लाग्ने कर कटाएर विजेतालाई उक्त रकम प्रदान गरिनेछ ।
यसका साथै, अन्य १५ जना उपभोक्ताले पनि जनही एक–एक लाख रुपैयाँको पुरस्कार जितेका छन् । उनीहरूको गोपनीयता कायम राख्नका लागि परिचय भने खुलाइएको छैन ।
कसरी सहभागी हुने ?
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न यो कार्यक्रम घोषणा गरेका थिए । कार्यविधि अनुसार बैंक वा वालेटको क्यूआर मार्फत भुक्तानी गर्ने उपभोक्ताहरू यस योजनामा स्वतः सहभागी हुनेछन् ।
नगदमा सामान किन्ने उपभोक्ताले अनिवार्य रूपमा प्यान वा भ्याट बिल मागेर त्यसलाई आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी कुपन लिनुपर्नेछ । साथै, उपहार प्राप्त गर्नका लागि वस्तु खरिद गरिएको सक्कल बिल भने उपभोक्ताले सुरक्षित राख्नुपर्नेछ । यो योजना अन्तर्गत हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन (दुई पटक) उपहारको घोषणा गरिने विभागले जनाएको छ ।