नेप्सेमा सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता

Aug 07, 2026 11:18 AM Merolagani



नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गर्दै विशेष सूचना जारी गरेको छ। धितोपत्र सूचीकरण नियमावली, २०७५ को व्यवस्था बमोजिम सूचीकृत कम्पनीहरूले आगामी असोज मसान्तभित्र यस्तो शुल्क बुझाइसक्नु पर्ने नेप्सेले जनाएको छ।

नेप्सेले आज एक सूचना प्रकाशित गर्दै समयमै शुल्क नबुझाउने कम्पनीहरूको धितोपत्र सूचीकरण स्थगन हुन सक्ने चेतावनी समेत दिएको छ।

५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीहरूले वार्षिक ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि चुक्ता पूँजी भएका कम्पनीहरूले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनु पर्नेछ। त्यसैगरी, डिबेन्चर तथा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को हकमा ५० करोड रुपैयाँसम्मको पूँजी भए २५ हजार रुपैयाँ र सोभन्दा माथि भए ५० हजार रुपैयाँ शुल्क तोकिएको छ।

तोकिएको नवीकरण शुल्क ग्लोबल आईएमई बैंक लिमिटेड, कमलादीमा रहेको नेप्सेको खाता नं. ०७५०१०१००००७७५ मा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। कम्पनीहरूले रकम जम्मा गरेको बैंक भौचर नेप्सेमा पठाउनु पर्ने छ ।

यदि कुनै कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सेले स्पष्ट पारेको छ। साथै, धितोपत्र सूचीकरण नियमावली बमोजिम त्यस्ता कम्पनीहरूको सूचीकरण प्रक्रिया नै स्थगन गर्न सकिने प्रावधान रहेको तर्फ समेत नेप्सेले ध्यानाकर्षण गराएको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।