तर बजार खुल्न केही मिनेट मात्र बाँकी छँदा नेप्सेले अचानक सूचना निकाल्यो। उक्त सूचनामा सोमबार दिनभरका लागि शेयर कारोबार पूर्ण रूपमा बन्द गरिएको घोषणा गरियो। बिना कुनै पूर्वसूचना बजार ठप्प भएपछि लगानीकर्ताहरू भने आक्रोसित भएका हुन्। आफ्नो सिस्टममा कुनै खराबी नभएको नेप्सेले बताएको छ। नेप्सेले सार्वजनिक गरेको सूचनामा निजी कम्पनी डेटा हब प्रालिको प्राविधिक समस्या आउदा ७२ वटै ब्रोकरको सर्भरमा समस्या भएको छ। त्यसपछि नेप्सेले नियम २१ (१) प्रयोग गरेर सोमबार दिनभरको लागि शेयर कारोबार स्थगित गर्यो।
सुरुमा यसलाई सामान्य प्राविधिक गडबडी मात्र भनिएको थियो। तर यसमा साइबर अपराध भएले डेटा हबले उल्लेख गरेको छ। ब्रोकरहरूको सर्भर चलाउने डेटा हबमा र्यान्समवेयर भाइरस पसेको कम्पनीले बताएको छ। यो आक्रमण आइतबार बिहानदेखिको हो। तर लगानीकर्तालाई सोमबार कारोबार खुला हुने भन्दा पछाडि मात्रै आधिकारिक रुपमा जानकारी गराइएको हो। एउटा निजी कम्पनीको सर्भर डाउन हुँदा ब्रोकरका टीएमएस नै नचलेर बजार बन्द गर्नु परेको हो।

ब्रोकरको टीएमएस नचलेपछि ८० लाख लगानीकर्ताले शेयर किनबेच नपाउनु दुखको कुरा हो । ७२ वटै ब्रोकरले एउटै कम्पनीको भर पर्नु ठूलो लापरबाही भएको लगानीकर्ताहरुले बताउने गरेका छन्। अन्तर्राष्ट्रिय नियम अनुसार वित्तीय क्षेत्रमा अनिवार्य रूपमा दोस्रो वैकल्पिक सर्भर हुनु पर्ने व्यवस्था गरिएको हुन्छ। तर नेपालमा यस्तो कुनै बलियो व्यवस्था छैन। यो शेयर बजारमा लगानी भएका आम लगानीकर्ताको सम्पत्तिको सुरक्षित नभएको लगानीकर्ताहरुको बुझाई छ।
लगानीकर्ताहरुले सराकार, धितोपत्र बोर्ड, नेप्से र ब्रोकरहरूमाथि नै प्रश्न उठाएका छन्। शेयर बजारमा हरेक सेकेन्डको मूल्य हुने शेयर बजारका विश्लेषक तथा लगानीकर्ता सुवासचन्द्र ढुङ्गानाले बताए। बजार घटबढ हुँदा तुरुन्त लगानीकर्ताको रणनीति लिनु पर्ने हुन्छ। घटिरहेको बेला तुरुन्त बेच्न नपाउँदा र बजारमा राम्रो मौकामा आउदा किन्न अवसर गुम्दा लगानीकर्ता ठूलो नोक्सानी हुन्छ।सोमबार बजार बन्दहुनुमा नियामकको लाचारीपना भएको ढुङ्गानाको बुझाई छ।
'दोस्रो बजारमा लाखौ लगानीकर्ताको सम्पत्ति दाउमा छ। एउटा निजी कम्पनीको सर्भर डाउन हुँदा सिङ्गो बजार बन्द हुनु लाजमर्दो कुरा हो। यति ठूलो लापरबाही हुँदा नियामक किन मौन बसेको छ', ढुङ्गानाले भने। यस घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा आम लगानीकर्ताहरुले माग गरेका छन्। यता सरकारले आधुनिक, प्रविधिमैत्री र विविधीकृत बजारको स्वर्णिम सपना लगानीकर्तालाई बिक्री गरिरहेको छ। दोस्रो बजारमा प्रत्यक्ष आवद्ध भएर कारोबार गर्ने लगानीकर्ताहरुले भने प्राविधिक रुपमा यस्ता समस्या पटक पटक व्यहोर्नुपर्ने विडम्बना छ।
केही दिन पछिले मात्रै सरकारले २१ बुँदे पूँजी बजार सुधार तथा पुनरुत्थान कार्ययोजना ल्याएको छ। सरकार र नियामक निकायले बजारलाई आधुनिक बनाउने योजनालाई तिव्र बनाइएको छ। सरकारले परम्परागत शेयर किनबेचको सीमाबाट बाहिर लैजाने लक्ष्य अघि सारेको छ। नियामकका पछिल्ला दस्तावेजमा पनि इन्ट्राडे कारोबार, मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ तथा सर्ट सेलिङजस्ता नयाँ उपकरणका लागि नीतिगत, कानुनी, संरचनागत र प्राविधिक तयारी अघि हो ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डले समय समयमा सार्वजनिक गरेको अवधारणापत्रमा पनि मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ र सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्था पहिचान गरिएको उल्लेख छ। प्राथमिक बजारसँगै दोस्रो बजारमा नयाँ उपकरण तथा सेवा विविधीकरणलाई प्राथमिकतामा राखेको बोर्डले बताएको छ। सर्ट सेलिङ सुरु भयो भने शेयर उपलब्धता, उधारो प्रणाली, जोखिम नियन्त्रण र वास्तविक समयको निगरानी आवश्यक हुन्छ। डेरिभेटिभजस्ता उपकरण आएमा जोखिम व्यवस्थापन र प्रविधिको आवश्यकता भएको जानकारहरुको भनाईछ। आधुनिक वित्तीय उपकरण सञ्चालन गर्न खोजिरहेको बजारले सोमबार सामान्य कारोबार प्रणालीको निरन्तरता समेत सुनिश्चित गर्न नसकेको हो।
सरकारले आधुनिक बजारको परिकल्पना गरि रहदा त्यसबाट हुन सक्ने सम्भावित जोखिमका लागि तयारी गर्नुपर्छ। लगानी सुरक्षा प्रणालीलाई पनि चुस्त बनाउनु पर्ने जरुरी छ। पुँजी बजारलाई डिजिटल बनाउँदै गर्दा साइबर सुरक्षा र प्रणालीगत जोखिम न्यूनीकरणका लागि वैकल्पिक पूर्वाधारको व्यवस्था पर्छ। विपदपछिको प्रणाली स्थापना, कारोबार निरन्तरता र वास्तविक समय निगरानी प्रणाली अनिवार्य बनाउनुपर्नेमा लगानीकर्ताहरुले जोड दिएका छन् ।
नेप्सेको कारोबार प्रणाली, सीडीएससी, ब्रोकर कम्पनीका कारोबार प्रणाली, बैंक तथा डीपी प्रणाली र प्राविधिक सेवा प्रदायकबीचको अन्तरसम्बन्ध बढ्दै जाँदा एउटा कम्पनी देखिएको समस्या अर्को प्रणालीमा सर्न सक्ने जोखिम त झनै छ। अबका दिनमा आधुनिक बजारका लागि एकीकृत डिजिटल पूर्वाधारसँगै बहुस्तरीय सुरक्षा र वैकल्पिक पूर्वाधार अनिवार्य भएको ढुङ्गानाको जोड छ।
बजारमा प्राविधिक गडबडी आउने कुरा पुरानै रोग हो। यो घटनालाई सामान्य रुपमा मात्रै लिन नहुने लगानीकर्ताको बुझाई छ। सोमबार भएको साइबर आक्रमणको निष्पक्ष फरेन्सिक जाँच हुनु पर्ने लगानीकर्ताहरुले जोड दिएका छन। यो कुनै प्राविधिक कमजोरी थियो वा मिलेमतो थियो, सत्यतथ्य बाहिर ल्याउनुपर्छ। दोषीमाथि कडा कारबाही हुनु पर्ने लगानीकर्ताहरुको बुझाई छ।
त्यसैगरी, सबै ब्रोकर कम्पनीलाई दोस्रो वैकल्पिक सर्भर राख्न अनिवार्य गर्ने, एउटा डेटा सेन्टर बिग्रिए तुरुन्त अर्कोबाट काम चल्ने हुनुपर्छ। कुनै हालतमा पनि बजार रोकिनु हुँदैन। निजी कम्पनीको भर पर्नुको सट्टा सुरक्षित राष्ट्रिय डेटा सेन्टर प्रयोग गर्नुपर्छ। ८० लाख नागरिकको सम्पत्ति जोडिएको बजारलाई कुनै एक निजी कम्पनीको जिम्मामा छाड्न मिल्दैन। सूचना प्रविधिको सुरक्षा बलियो बनाएपछि मात्र लगानीकर्ताको विश्वास फर्कने लगानीकर्ताहरुको बुझाई छ।