पूर्वाधार विकास मन्त्रालय र जापानी सहयोग नियोग (जाइका) ले संयुक्त रूपमा तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’ मा यस्तो योजना प्रस्ताव गरिएको हो ।
उपत्यकाको सहरी यातायातलाई थप व्यवस्थित,सुरक्षित र पैदलयात्रीमैत्री बनाउन काठमाडौंको वसन्तपुर र ठमेल तथा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन सिफारिस गरिएको छ । यो योजना कार्यान्वयनमा आएपछि पर्यटक र स्थानीय बासिन्दाले बिना अवरोध पैदल यात्रा गर्न पाउने विश्वास लिइएको छ ।
यस्तो छ क्षेत्रगत योजना
वसन्तपुर क्षेत्रः युनेस्कोले पहिले नै तय गरेको सीमांकन अनुसार वसन्तपुर दरबार स्क्वायर क्षेत्रलाई पूर्ण रूपमा पैदलयात्री क्षेत्र घोषणा गर्न मास्टर प्लानले जोड दिएको छ । यस क्षेत्रमा सवारी साधनको प्रवेशलाई पूर्णतः निषेध गरी ऐतिहासिक वातावरण जोगाउने लक्ष्य राखिएको छ ।
ठमेल क्षेत्रः काठमाडौंको मुख्य व्यापारिक र पर्यटकीय हब ठमेलमा समय तालिका अनुसार सवारी निषेधको प्रस्ताव गरिएको छ । व्यावसायिक गतिविधि र सामान ढुवानीलाई असर नपर्ने गरी बिहान ९ बजेदेखि राती ९ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाउन सिफारिस गरिएको छ ।
पाटन दरबार क्षेत्रः पाटनका सडकलाई पैदलयात्रीमैत्री बनाउन ललितपुर महानगरपालिकाको समन्वयमा विशेष योजना बनाइएको छ । जसअन्तर्गत केही सडकलाई ‘वान वे’ बनाउने र केहीमा मोटरसाइकल मात्र चलाउन दिने गरी व्यवस्थापन गरिनेछ ।
कार फ्री जोन घोषणा गरिएका क्षेत्रलाई स्पष्ट रूपमा छुट्याउन रङ्गीन सडक चिह्न (कलर मार्किङ) र आवश्यकता अनुसार ब्यारिकेडहरू राखिनेछन् । यी भौतिक पूर्वाधार निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।