टोखा–छहरे सडकमा राति सवारी आवागमन बन्द

Aug 19, 2026 08:34 AM RSS



वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १० देखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको हो ।

शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । 

भदौ १ गते रातिदेखि लागु भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरी एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने बताए । उनले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी र सम्बन्धित सबैलाई आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था अझै जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन र प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । 

विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि जिल्ला प्रहरी कार्यालयको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।