मंगलबार ढिलो गरी ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै कागजातहरूलाई अन्तिम रूप दिने सर्तमा दुवै देशबीच सहमति भएको हुनाले महसुल वृद्धि स्थगित गरिएको जानकारी गराएका हुन्।
यस घोषणाको एक घण्टापछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एक विज्ञप्ति जारी गर्दै वार्तामा महत्त्पूर्ण प्रगति भएको तर अझै केही महत्वपूर्ण काम बाँकी रहेको बताएका छन । ट्रम्प र कार्नीबीच मंगलबार दिउँसो कुराकानी भएको थियो, जुन यो हप्ता उहाँहरूकाबीच भएको दोस्रो वार्ता हो।
सम्झौताका मुख्य विषयवस्तुहरू
अमेरिकी व्यापार प्रतिनिधि जमिसन ग्रियरको कार्यालयका अनुसार यस सम्झौतामा अमेरिकी वस्तुहरूका लागि व्यापक बजार पहुँच, आर्थिक सुरक्षा प्रतिबद्धता र डिजिटल व्यापार संरक्षण जस्ता विषयहरू समावेश हुनेछन्।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणामा भनेका छनः
डेयरी र मदिराः डेरी उत्पादन, रक्सी तथा सवारी साधनमा अमेरिकी चासो र चिन्ताहरूलाई सम्बोधन गर्न क्यानाडा सहमत भएको छ।
किस्टोन एक्सएल पाइपलाइनः सन् २०२१ मा पूर्व राष्ट्रपति जो बाइडेनले रद्द गरेको किस्टोन एक्सएल पाइपलाइन आयोजना पुनः अघि बढ्न सक्ने ट्रम्पले सङ्केत गरेका छन।
नयाँ अमेरिकी भन्सार महसुल लागू भएको भए यसले करिब २० अर्ब डलर बराबरको आयातलाई असर पार्ने थियो। यसले अमेरिका–मेक्सिको–क्यानाडा व्यापार सम्झौताको दायराभन्दा बाहिर गएर असर पुर्याउने जोखिम रहेको थियो।
अटो क्षेत्र र विवादका विषयहरू
दुवै देशबिच अमेरिकी सेक्सन २३२ अन्तर्गत क्यानाडाली गाडीहरूमा लाग्दै आएको २५ प्रतिशत भन्सार महसुल घटाएर १५ प्रतिशतमा झार्ने र अमेरिकी सामग्रीको मात्रा अनुसार थप छुट दिने विषयमा पनि छलफल भएको छ।
तथापि, भन्सार छुटको गणना कसरी गर्ने भन्नेमा मुख्य विवाद रहेको थियोः
अमेरिकी अडानः अमेरिकाले गाडीमा प्रयोग भएको अमेरिकी उत्पादन मात्र गणना हुनुपर्ने माग राखेको छ।
क्यानाडाको अडानः क्यानाडाले क्यानाडाली र मेक्सिकन पार्टपुर्जाहरू सहित सम्पूर्ण उत्तर अमेरिकी सामग्रीलाई गणना गरिनुपर्ने तर्क प्रस्तुत गरेको थियो।
यसैबीच, अमेरिकी वाणिज्य मन्त्रालयले क्यानाडा र मेक्सिकोबाट आयात गरिने गाडीहरूमा अमेरिकी सामग्रीको प्रमाणीकरण प्रक्रियालाई वर्षमा दुई पटकको सट्टा एक पटकमा झारेर नियम सरल बनाएको छ।
सम्भावित असर र क्यानाडाको तयारी
व्यापार विशेषज्ञहरूका अनुसार महसुल बढेको खण्डमा क्यानाडाको काठ, वाइन र डेरी जस्ता संवेदनशील क्षेत्रमा रोजगारी गुम्ने र उद्योगहरू बन्द हुने जोखिम थियो।
क्यानाडाका मन्त्री डोमिनिक लेब्लाङ्क र मुख्य व्यापार वार्ताकार ज्यानिस बारेट नेतृत्वको टोली गत हप्तादेखि नै वासिङ्टनमा निरन्तर वार्तामा छ। क्यानाडाली स्रोतका अनुसार यदि नयाँ भन्सार महसुल लागू भइहालेमा प्रभावित उद्योगहरूलाई सरकारी सहयोग दिनेदेखि द्विपक्षीय व्यापार वार्ता नै निलम्बन गर्नेसम्मका विकल्पहरू टोलीले तयार राखेको छ।