पूँजी बजारमा नयाँ ‘प्रडक्ट’ ल्याउने धितोपत्र बोर्डको तयारी, २२ वर्ष पुरानो ऐन परिमार्जन गर्न ब्रोकरको माग

Aug 20, 2026 12:32 PM Merolagani



नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले शेयर बजारमा उत्साह ल्याउन नयाँ ‘प्रडक्ट’ हरू भित्र्याउनुपर्नेमा जोड दिएका छन्। 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले भदौ ३ गते आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले पूँजीबजारको आधुनिकिकरणका लागि नयाँ औजारहरू आवश्यक रहेको बताए।

अध्यक्ष भट्टले धितोपत्र बोर्डले अब ‘क्यास’ (नगद) वा ‘क्रेडिट’ (उधारो) कारोबार गर्ने स्पष्ट नीति अवलम्बन गर्ने जानकारी दिए। उनले हाल कार्यान्वयनको प्रक्रियामा रहेको मार्जिन कारोबारले अहिलेको क्रेडिट कारोबारमा देखिएका समस्याहरूलाई सुधार गर्ने विश्वास व्यक्त गरे।

नयाँ मार्गदर्शन र सुशासन

कार्यक्रममा अध्यक्ष भट्टले धितोपत्र बोर्डले पूँजीबजारसँग सम्बन्धित केही नयाँ मार्गदर्शनहरू छिट्टै जारी गर्ने घोषणा गरे। ती मार्गदर्शनहरू मुख्य गरी लगानीकर्ताको हित संरक्षण, जोखिममा आधारित नियमन र बजारमा संस्थागत सुशासन कायम गर्नमा केन्द्रित हुने उनले स्पष्ट पारे। उनले प्राथमिक र दोस्रो दुवै बजारमा सुधारको खाँचो रहेको औँल्याउँदै त्यसका लागि बोर्डले काम गरिरहेको बताए।

ऐन परिमार्जन र ‘अटो ईडिआईएस’ को माग


कार्यक्रमका सभापति एवं स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले धितोपत्र बजारमा रहेका २०–२२ वर्ष पुराना ऐनहरूलाई तत्काल परिमार्जन गर्नुपर्ने माग गरे। उनले बोर्डमा नयाँ नेतृत्व आएपछि लगानीकर्ताले सोचेभन्दा बढी काम भएको प्रशंसा गर्दै अब ‘अटो ईडिआईएस’ (Auto-EDIS) को व्यवस्था ल्याउन सुझाव दिए।

यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका पूँजीबजार फोरमका सभापति एवं पूर्वअध्यक्ष प्रियराज रेग्मीले शेयर बजारको मेरुदण्ड भनेकै लगानीकर्ताको विश्वास भएको बताए। उनले ब्रोकर व्यवसायलाई थप आधुनिक र सम्मानित बनाउनुपर्नेमा जोड दिँदै बोर्डको भिजनअनुसार अघि बढ्न सबै ब्रोकरहरूलाई आग्रह गरे।

बजार विकासको मार्गचित्र

एसोसिएसनका उपाध्यक्ष नितेश कुमार अग्रवालले पूँजीबजार विकासका लागि एक ‘मार्गचित्र’ प्रस्तुत गरे। एसोसिएसनका महासचिव भक्तिराम घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा धितोपत्र बोर्डको पूर्ण व्यवस्थापन टोली र ८० भन्दा बढी ब्रोकर कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो। बजारका नियामक र सञ्चालकबीचको यो छलफलले आगामी दिनमा नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।