बाढीले जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याएपछि कुल ४३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ।
४३० मेगावाट बिजुली उत्पादन बन्द
प्रारम्भिक विवरणअनुसार बाढीका कारण भोटेकोशी र त्रिशूली करिडोरका ११ वटा जलविद्युत् आयोजनाहरूको उत्पादन बन्द भएको छ। यसबाट ४०५ मेगावाट जलविद्युत् र २५ मेगावाट सोलार गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर गएको हो। बाढीले आयोजनाका संरचनाहरूमा पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
६ जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार विशेष बुलेटिन जारी गर्दै भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
प्राधिकरणले बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रमुख राजमार्गहरूमा आवागमन रोक्न स्थानीय प्रशासनलाई अनुरोध गरेको छ।
बाढीले १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ बी,देवीघाट जलविद्युत् आयोजना, त्रिशुली ३ बी सवस्टेशन हबलगायतको अन्य आयोजनामा क्षति पुगेको छ । बाढीले क्षति पुगेसँगै विद्युत् उत्पादन बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।