यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM Merolagani



नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।

पछिल्लाे समय वाणिज्य बैंककाे कति लाभांश आउला भनेर लगानीकर्ताको ध्यान आकर्षित भएको छ। चालु आर्थिक वर्ष सुरु भएको झण्डै ४० दिन बितिसकेकाे छ । यद्यपि अहिलेसम्म वाणिज्य बैंकहरुले लाभांश घाेषणा गरिसकेका छैनन । दशैं अगाडि नै बैंकहरु लगानीकर्तालाई लाभांश खुवाउँने तयारीमा लागि परेका छन्। बैंकहरुले लाभांश वितरण गर्न पूर्व स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पुगिसकेका छन्।

प्रकाशित  वित्तीय विवरण अनुसार बैंकहरु मध्येमा बलियो लाभांश क्षमता भएको एभरेष्ट, सानिमा, नबिल, कुमारी र माछापुच्छ्रे बैंकले लाभांश घोषणा अघि गत आर्थिक वर्षको वित्तीय विवरणको पूर्व स्वीकृति माग गर्दै राष्ट्र बैंक पुगेका छन्। यस्तै नेप्सेमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पनि लाभांश वितरणका लागि पूर्व स्वीकृति मागेको छ। अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको खण्डमा कम्पनीहरुले दशैंअघि नै लाभांश वितरणको घोषणा गर्ने छन् ।

त्यसैगरी, अहिलेसम्म लाभांश घोषण गर्ने मध्येमा दुई विकास बैंक, ६ जलविद्युत कम्पनी र १७ वटा म्युचुअल फन्डहरूले आफ्ना शेयरधनी तथा इकाइधनीहरूका लागि लाभांश घोषणा गरेका छन्।विकास बैंकतर्फ सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस शेयर र ६.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश दिने भएको छ। कामनाले लाभांश वितरण गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा अह्वान गरिसकेको छ।

जलविद्युत (हाइड्रोपावर) समूहका कम्पनीहरूमा सुपर मादी हाइड्रोपावरले सबैभन्दा धेरै १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ। नगद लाभांश मात्र वितरण गर्ने कम्पनीहरूमा हिल्टन हाइड्रो इनर्जीले २० प्रतिशत, आशुतोष इनर्जीले १८.९४ प्रतिशत, काबेली हाइड्रोपावरले १६.३१ प्रतिशत, माण्डु हाइड्रोपावरले १२ प्रतिशत र साप्सु कालिका हाइड्रोपावरले ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन्।

म्युचुअल फन्डहरूको क्षेत्रमा पनि उत्साहजनक लाभांश घोषणा भएको छ। प्रभु म्युचुअल फन्ड अन्तर्गतका प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्डले समान १२ प्रतिशतका दरले नगद लाभांश दिने भएका छन्। त्यसैगरी, १० प्रतिशत नगद लाभांश वितरण गर्ने फन्डहरूमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३, एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–II, कुमारी इक्विटी फन्ड र कुमारी धनबृद्धि योजना रहेका छन्। यस्तै, रिलायवल समृद्धि योजनाले ८.४२ प्रतिशत तथा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र एमबिएल इक्विटी फन्डले समान ८ प्रतिशत लाभांश घोषणा गरेका छन्।

अन्य म्युचुअल फन्डहरूमा एनएमबि सरल बचत फन्ड–ईले ५.२५ प्रतिशत, सानिमा ग्रोथ फन्डले ५ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ४.७ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फन्ड र एनएमबि हाइब्रिड फन्ड एल–II ले पनि ४.५ प्रतिशत लाभांश दिनेछन्। सबैभन्दा कम लाभांश घोषणा गर्नेमा एनएमबि ५० ३.१५ प्रतिशत, सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम ३ प्रतिशत र कुमारी सबल योजना २.९ प्रतिशत नगद प्रतिफल वितरण गरेका हुन्। 

बुक क्लोज

लाभांश प्राप्त गर्न तोकिएको बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म शेयरधनी कायम हुनुपर्ने प्रावधान रहेको छ। उक्त कम्पनी र फण्डहरु मध्यमा केहीको बुक क्लोज मिति घर्किसकेको छ, केहीको बाँकी नै छ । जसमध्येमा रिलायवल समृद्धि योजनाको बुक क्लोज भदौ १० गतेका लागि तय भएको छ। सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ दुवैको बुक क्लोज मिति भदौ १५ गते रहेको छ। विकास बैंक र अन्य फन्डहरूको हकमा, कामना सेवा विकास बैंक र सानिमा ग्रोथ फन्डले आगामी भदौ १८ गतेका लागि बुक क्लोज मिति तोकेको छ । जसमा कामना सेवाले लाभांश वितरण गर्ने प्रस्ताव गर्दै वार्षिक साधारण सभा पनि आह्वान गरिसकेको छ। यसैगरी, जलविद्युत समूहका तीन कम्पनीहरू हिल्टन हाइड्रो इनर्जी, आशुतोष इनर्जी र काबेली हाइड्रोपावरको बुक क्लोज मिति भदौ १९ गते रहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।