हकप्रद शेयरको पछि दौडिँदै लगानीकर्ता, अवसर कि जोखिम?

Nov 20, 2026 05:56 AM Merolagani



हकप्रद शेयर जारी गर्ने सूचना सार्वजनिक हुनासाथै नेप्सेमा कारोबार हुने कम्पनीको शेयर प्रति आम लगानीकर्ताको आकर्षण बढ्ने गरेको छ । हकप्रद शेयर पाउने आशामा कतिपय लगानीकर्ता खरिद गर्न हतारिने गरेको देखिएको हो ।

कम्पनीहरुले पूँजी वृद्धि गर्नको लागि जारी गर्न आह्वान गरेको हकप्रद शेयरप्रति लगानीकर्ता लोभिदै शेयर खरिद गर्न हतारिने गरेको पाइन्छ। पछिल्लाे समय हकप्रद शेयर जारी गर्ने भएकै कारण एनआईसी एसिया बैंक र नेपाल पुनर्बीमा कम्पनीलगायत हकप्रद जारी गर्न तयार भएका कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुले ध्यान बढाएका हुन् ।

पछिल्लो समग्र सूचक सुस्त छ । यस्ताे अवस्थामा लगानीकर्ताहरु हकप्रदको फण्डामा शेयर कारोबार गर्ने गरेका छन् । बजारमा अल्पकालीन लगानीकर्ता हावी छन् । यो अवस्थामा हकप्रद जारी गर्ने प्रस्ताव गरेका तथा बोर्डमा शेयर जारी गर्न आवेदन दिएका कम्पनीको शेयर मूल्य तुलनात्मक रुपमा चलायमान भएको लगानीकर्ता विष्णु पाठकले बताए। 'हामीले एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा, राधी, एनआरएन, साहसलगायतका कम्पनी चल्नुको प्रमुख कारण हकप्रद नै भएको ठानेका छाैं,' उनले भने ।

कम्पनीले हकप्रद जारी गर्नु समान्य हो। तर दोस्रो बजारमा तिनै विषयलाई धेरै प्राथमिकता दिएर लगानीकर्ताहरु शेयर खरिद गर्न लाेभिने गरेको पाइन्छ। तर दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले हकप्रद जारी हुँदैछ भन्दैमा आँखा चिम्लेर शेयर कारोबार गर्न नहुने पाठकको बुझाई छ। बजारमा हकप्रद शेयर निष्काशन सबैका लागि खरिद गर्ने अवसर मात्रै नहुन सक्छ । हकप्रद शेयर निष्काशनको सूचना बजारमा सधैँ सकारात्मक मात्रै नहुन सक्छ। यस्तो अवस्थामा लगानीकर्ताहरु सचेत भएर शेयर कारोबार गर्नुपर्ने उनको धारणा छ।

यस्तो अवस्थामा ठूला लगानीकर्ताले यही सूचनालाई आफूले होल्ड गरेको शेयर बिक्री गर्ने अवसरका रूपमा समेत उपयोग गर्दै आएका हुन सक्छन्। वास्तवमा सूचना सार्वजनिक भएपछि मूल्य बढ्ने अपेक्षामा साना लगानीकर्ता खरिदतर्फ आकर्षित हुँदा पहिले नै शेयर होल्ड गरेका ठूला लगानीकर्ताले बिक्रीको अवसरको रुपमा प्रयोग गर्ने गरेका छन्।

विशेषगरी ठूलो संख्यामा कित्ता होल्ड गर्ने लगानीकर्तालाई एकैपटक शेयर बिक्री गर्न सहज हुँदैन। यस्तो अवस्थामा हकप्रद निष्काशनको सूचनाले बजारमा खरिदकर्ताको संख्या र कारोबार बढाउँदा उनीहरूलाई बाहिरिने अवसर मिल्ने लगानीकर्ताहरुको बुझाई छ। यसो भन्दैमा हकप्रद जारी हुन लागेको कम्पनीको शेयर जोखिम भन्ने हुँदैन । तर सूचना सार्वजनिक भएपछि बढेको कारोबार रकम र सेयर मूल्यलाई मात्रै आधार मानेर लगानीकाे निर्णय गर्नु जोखिमपूर्ण हुने जानकारहरुले बताउने गरेका छन्। पछिल्लाे समयमा एउटै कम्पनीको शेयर मूल्य लामो समयसम्म टिक्न नसक्नु र मूल्यवृद्धि छोटो समयमै उल्टिनुले पनि हकप्रदको सूचना बजारमा खरिद र बिक्री दुवैका लागि प्रयोग भइरहेको अनुमान लगानीकर्ताहरुले गरेका छन्।

यद्यपि हकप्रद शेयर निष्काशनको प्रभाव सबै कम्पनी र बजारको अवस्थालाई प्रतिनिधित्व गर्दैन। समग्र बजार बढ्दो प्रवृत्तिमा रहेको अवस्थामा कम्पनीको वित्तीय अवस्था र व्यवसाय विस्तारको सम्भावनाले हकप्रद शेयर खरिद गर्दा लगानीकर्ताले लाभ हासिल गर्न सक्ने सम्भावनाहरु पनि प्रसस्तै रहेको हुन्छ। तर बजार घट्दो अवस्थामा छ भने थप शेयर आपूर्ति र लगानीकर्ताको कमजोर मनोबलले मूल्यमा थप दबाब सिर्जना गर्न सक्छ। त्यसैले हकप्रदको घोषणा वा स्वीकृतिलाई मात्रै खरिदको आधार बनाउनु नहुने जानकारहरु सुझाउँछन्।

हकप्रद शेयर जारी हुनु भनेको कम्पनीले थप पूँजी जुटाउनु हो। कम्पनीले विद्यमान शेयरधनीलाई निश्चित अनुपातमा थप शेयर खरिद गर्ने अधिकार दिएर व्यवसाय विस्तार, ऋण भुक्तानी वा अन्य आवश्यक कामका लागि रकम संकलन गर्छन । 

त्यसैले, हकप्रद जारी गर्ने कम्पनीमा लगानी गर्दै गर्दा लगानीकर्ताहरुले पूँजी वृद्धि र व्यवसाय विस्तारसँग जोडेर हेर्नुपर्ने हुन्छ। कम्पनीले किन थप पूँजी जुटाउन खोजेको हो, जुटेको रकम कहाँ प्रयोग हुदैछ। कम्पनीको वित्तीय अवस्था कस्तो छ र त्यसबाट भविष्यमा कस्तो प्रतिफल आउन सक्छ भन्ने विषयलाई जोड दिनुपर्ने हुन्छ। हकप्रद शेयर निष्कासन भयो भन्दैमा कम्पनीको आधारभूत अवस्था सुधारिएको वा शेयर मूल्य सस्तो भएको अर्थ लगाउनु हुदैन। शेयर खरिद गर्न आवश्यक पर्ने रकम र त्यसबाट प्राप्त हुने सम्भावित प्रतिफलको समेत लगानीकर्ताले मूल्यांकन गर्नुपर्ने हुन्छ ।

नेपाल धितोपत्र बोर्डमा हाल ३१ कम्पनीले हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएका छन्। ती कम्पनीहरुको ३३ अर्ब २१ करोड ३८ लाख ४९ हजार रुपैयाँ बराबरको हकप्रद आउने लागेको हो। आवेदन दिएका कम्पनीमध्ये ८ वटाले आवश्यक कागजी प्रक्रिया पूरा गरेका छन्। तर बोर्डले ती कम्पनीको अध्ययन पूरा नगरेकाले हालसम्म स्वीकृति पाइसकेका छैनन्। आवश्यक प्रक्रिया र अध्ययन पूरा भएपछि कम्पनीहरूले क्रमशः निष्काशन अनुमति दिने बोर्डले जानकारी गराएको छ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।