कारोबार रकम र शेयर कारोबारको परिमाण (भोल्युम) मा पनि उल्लेख्य सुधार हुन सकेको छैन। चार कारोबार दिनमध्ये बिहीबार मात्रै बजार सामान्य अंकले बढेको थियो। समग्रमा बजार साइडवेज अवस्थामा देखिएको छ।
चाडपर्व सकिएसँगै लगानीकर्ता तथा व्यवसायीहरू नियमित काममा फर्किएका छन्। तर त्यसको प्रभाव शेयर बजारमा देखिएको छैन। केही कम्पनीको शेयरमा सामान्य गतिविधि देखिए पनि समग्र बजारमा उत्साह आउन सकेको छैन। बजारमा लगानीकर्ताको सहभागिता बढ्न नसक्दा कारोबारसमेत सुस्त बनेको छ।
लगानीकर्ताहरूले बजार घट्नुको मुख्य कारण सरकार र अर्थमन्त्रीप्रतिको अविश्वासलाई मानेका छन्। लगानीकर्ताको मनोबल कमजोर बनेकाे छ। नीतिगत सुधारका विषय अघि बढे पनि त्यसले बजारमा अपेक्षित सकारात्मक प्रभाव पार्न नसकेको लगानीकर्ताको बुझाइ छ।
लगानीकर्ता तारा प्रसाद फुल्लेलले पूँजीबजारमा गर्नुपर्ने नीतिगत सुधारका अधिकांश काम भइसकेको बताए। तर, लगानीकर्ताहरू विश्वस्त भएर लगानी गर्ने अवस्थामा नरहेकाले बजारले गति लिन नसकेको बताए। बजारमा नीतिगत व्यवस्थाभन्दा पनि लगानीकर्ताको विश्वास र मनोबल महत्वपूर्ण देखिएको उनको भनाई छ।
यसैबीच, शेयर कारोबारमा ब्रोकर कम्पनीहरूको सक्रियतामा पनि भिन्नता देखिएको छ। उपलब्ध तथ्याङ्कअनुसार नासा सेक्युरिटिजले खरिद तथा बिक्री दुवै जोड्दा सबैभन्दा बढी कारोबार गरेको छ। ब्रोकर नम्बर ५८ रहेको नासाले २७ करोड २५ लाख रुपैयाँको शेयर बिक्री गर्दा २० करोड ३५ लाख रुपैयाँको शेयर खरिद गरेको छ। खरिद र बिक्री जोड्दा कम्पनीको कुल कारोबार ४७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
कुल कारोबार रकमका आधारमा भिजन सेक्युरिटिज दोस्रो स्थानमा रहेको छ। भिजनले १७ करोड ६६ लाख रुपैयाँको शेयर खरिद र १३ करोड ५६ लाख रुपैयाँको बिक्री गरेको छ। यसको कुल कारोबार ३१ करोड २३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, सनी सेक्युरिटिजले १५ करोड २१ लाख रुपैयाँको खरिद र १२ करोड ९५ लाख रुपैयाँको बिक्री गरेको छ। सनीको कुल कारोबार २८ करोड १७ लाख रुपैयाँ पुगेको छ।
इम्पेरियल सेक्युरिटिजले ११ करोड ९६ लाख रुपैयाँको शेयर खरिद र १३ करोड ८७ लाख रुपैयाँको बिक्री गरेको छ। डाइनामिक मनी म्यानेजर्सले भने १३ करोड ९४ लाख रुपैयाँको खरिद र ११ करोड ५ लाख रुपैयाँको बिक्री गरेको छ। यी दुवै कम्पनीको कुल कारोबार २५ करोड रुपैयाँभन्दा बढी रहेको छ।
दक्षिणकाली इन्भेस्टमेन्ट सेक्युरिटिजमा भने खरिदभन्दा बिक्री रकम दोब्बरभन्दा बढी देखिएको छ। कम्पनीले ७ करोड ७९ लाख रुपैयाँको शेयर खरिद गर्दा १६ करोड ४२ लाख रुपैयाँको बिक्री गरेको छ। यसको कुल कारोबार २४ करोड २१ लाख रुपैयाँ रहेको छ। शीर्ष १० ब्रोकरमध्ये खरिद र बिक्री रकमबीच सबैभन्दा ठूलो अन्तर दक्षिणकालीमा देखिएको छ।
त्यस्तै, अनलाइन सेक्युरिटिजले १३ करोड ५५ लाख रुपैयाँको शेयर खरिद र ८ करोड ८८ लाख रुपैयाँको बिक्री गरेको छ। एबीसी सेक्युरिटिजले ९ करोड ८३ लाख रुपैयाँको खरिद र ११ करोड ३५ लाख रुपैयाँको बिक्री गरेको छ। त्रिशक्ति सेक्युरिटिजले १० करोड ६८ लाख रुपैयाँको खरिद र ९ करोड ११ लाख रुपैयाँको बिक्री गरेको छ।
नेपाल स्टक हाउसमा भने शेयर खरिद र बिक्री रकम लगभग बराबर देखिएको छ। कम्पनीले ९ करोड ८१ लाख ८४ हजार रुपैयाँको सेयर खरिद गर्दा ९ करोड ८१ लाख ३७ हजार रुपैयाँको बिक्री गरेको छ। खरिद र बिक्रीबीचको अन्तर ४७ हजार रुपैयाँ मात्रै रहेको छ।
समग्रमा ब्रोकर कम्पनीहरूको कारोबारमा केही सक्रियता देखिए पनि बजारमा लगानीकर्ताको विश्वास र उत्साह फर्किन सकेको छैन। बजारलाई गति दिन नीतिगत सुधारसँगै सरकारप्रतिको विश्वास र लगानीकर्ताको मनोबल बढाउनु पर्ने जानकारहरुको बुझाई छ।