भन्सार जाँचपास गरी राजधानी भित्रिने तयारीमा रहेका यी गाडीहरू बाढीले बगाउँदा अटो व्यवसायीहरूले अर्बौंको क्षति बेहोर्नुपर्ने भएको छ।
बाढीले बगाएका अधिकांश गाडीहरू हाल राजधानीमा जारी ‘नाडा अटो शो’ र हालै सम्पन्न ‘नाइमा मोबिलिटी एक्स्पो’ लाई लक्षित गरी मगाइएका थिए। अटो व्यवसायीहरूका अनुसार बाढीले विशेषगरी विद्युतीय सवारीसाधन (इभी) मा ठूलो क्षति पुर्याएको छ।
बाढीले बिवाइडीका इभीहरू, एमजी, ओमोडा एण्ड जेको, र वुलिङलगायतका कम्पनीका नयाँ मोडलका गाडीहरू बगाएको व्यवसायीहरूले पुष्टि गरेका छन्। प्रारम्भिक अनुमानअनुसार बिवाइडी र एमजीका मात्रै साढे ३ सयभन्दा बढी गाडी बाढीको चपेटामा परेका छन्।
जारी नाडा अटो शोलाई ठूलो धक्का
भृकुटीमण्डपमा उत्साहका साथ सञ्चालन भइरहेको नाडा अटो शोलाई यो घटनाले गम्भीर धक्का दिएको छ। प्रदर्शनीमा गाडी मन पराएर बुकिङ गरेका सयौँ ग्राहकलाई समयमै गाडी डेलिभरी गर्नुपर्ने दबाबमा रहेका व्यवसायीहरू अहिले चिन्तित बनेका छन्।
'हामीले अटो शोमा बुकिङ लिइरहेका छौँ, तर स्टकका लागि आउन लागेका गाडीहरू बाढीले बगाएपछि डेलिभरी कसरी गर्ने भन्ने ठूलो समस्या आइलागेको छ,' एक अटो व्यवसायीले दुखेसो पोखे।
सडक अवरोधले आपूर्ति ठप्प
बाढीले गाडी मात्र बगाएको छैन, नाका जोड्ने सडक पूर्वाधार र पुलहरूमा समेत क्षति पुर्याएको छ। सडक सञ्जाल छिन्नभिन्न भएका कारण भन्सारमा बाँकी रहेका सुरक्षित गाडीहरू पनि तत्काल काठमाडौँ ल्याउन सक्ने अवस्था नरहेको व्यवसायीहरूको दाबी छ। यसले गर्दा अटो बजारमा गाडीको अभाव हुन सक्ने र ग्राहकले लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ।
व्यवसायीमा चिन्ता र अन्योल
लामो समयको आर्थिक सुस्ततापछि अटो शोमार्फत बजार चलायमान हुने अपेक्षा गरेका व्यवसायीहरूका लागि यो प्राकृतिक विपत्ति ‘निल्नु न ओकल्नु’ भएको छ। बुकिङ गरेका गाडीहरू समयमै डेलिभर गर्न नसकिने भएपछि ग्राहकको विश्वास टुट्ने डरले उनीहरू थप चिन्तित छन्।
भन्सार विभाग र सम्बन्धित निकायले क्षतिको वास्तविक विवरण सङ्कलन गरिरहेका छन्। गाडीहरूको बीमा गरिएको भए पनि प्रक्रियागत झन्झट र नयाँ गाडी आयात गर्न लाग्ने समयले गर्दा अटो बजारमा यसको दीर्घकालीन असर पर्ने निश्चित देखिएको छ।