सरकारको कोषमा अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ तत्काल सहयोग उपलब्ध गराएको हो । यो सहयोग रकमले तत्कालै प्रभावित नागरिकहरूको खोज र उद्धारमा सहयोग पुग्ने विश्वास कम्पनीकी अध्यक्ष सिर्जना खड्काले व्यक्त गरेकी छन्। उनले खोज र उद्दार कार्यपछि प्रभावितहरुको दीर्घकालीन पुनर्स्थापनाका लागि समेत आवश्यक अनुसार थप सहयोगको लागि कम्पनी तत्पर रहेको बताएकी छन्।
अपि पावरले बाढीका कारण विभिन्न जलविद्युत आयोजना र अन्य संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अपि पावरले ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
अपि पावरले विभिन्न जलविद्युत आयोजनाका कर्मचारीसहित सम्पूर्ण बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धारको लागि सम्बन्धित निकायसँग जोडदार आग्रह गरेको छ । अपि पावरले यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन अधिकतम् सावधानी अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार र राहतमा सक्दो सहयोग गर्न पनि सबैमा आग्रह गरेको छ ।
अपि पावर कम्पनीले हाल ५६ मेगावाट क्षमताका जलविद्युत आयोजना र ६ मेगावाट क्षमताका सौर्य आयोजना निर्माण सम्पन्न गरि नियमित विद्युत उत्पादन गरिरहेको छ । साथै एक दर्जन वटा सहायक कम्पनीहरु मार्फत विभिन्न जलविद्युत, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा पनि काम गरिरहेको छ।