नेपाल भाषामा क्वाँ को अर्थ तातो र 'टी'को अर्थ झोल वा सुप हुन्छ। नौ प्रकारका गेडागुडीहरू (चना, केराउ, मास, मुगी, बोडी, सिमी, भटमास, गहत, र बकुल्ला) लाई उमारेर बनाइने यो तातो झोल नेपाली संस्कृति, स्वास्थ्य र कृषि जीवनशैलीको एक अनुपम संगम हो।
क्वाँटी खाने परम्परा कहिलेदेखि सुरु भयो भन्ने निश्चित इतिहास वा तिथि मिति उल्लेख नभए पनि यो उपत्यकाको मल्लकालीन वा त्योभन्दा अघिको कृषि संस्कृतिसँग जोडिएको छ।
असार साउनको झरीमा किसानहरू हिलोमा पसेर रोपाइँ गर्छन्। लगातार पानी र हिलोमा काम गर्दा शरीरमा चिसो पस्ने र शक्ति क्षीण हुने गर्छ। पूर्णिमासम्म आइपुग्दा रोपाइँ सकिन्छ। त्यसपछि शरीरलाई पुनः ऊर्जावान् बनाउन र भित्रैदेखि न्यानो राख्न तातो र पोषिलो आहारको रूपमा क्वाँटी खाने चलन बस्यो।

९ थरी गेडागुडी केराउ, चना, बोडी, सिमी, माष, मुगी, गहतः, भटमास र बकुल्लालाई ४-५ दिनअघि भिजाइन्छ। गेडागुडी टुसाएपछि यसमा भिटामिन र प्रोटिनको मात्रा बहुगुणित हुन्छ।
नेवारी परम्परा गुँपुन्हि काठमाडौँ उपत्यकाका नेवार समुदायमा गुँपुन्हिको दिन नौ थरी गेडागुडी भिजाएर टुसा उमारेपछि यसलाई पकाउने र नवदुर्गा तथा पितृहरूलाई चढाएर परिवारका सबै सदस्य मिलेर खाने परम्परा छ।
क्वाँटीको पोषण तथा स्वास्थ्य महत्व
क्वाँटी स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिले पनि एक शक्तिशाली शक्तिवर्धक आहार हो । टुसा उम्लेका गेडागुडी गेडागुडी उमारेपछि त्यसमा भिटामिन बी, सी र प्रोटिनको मात्रा दोब्बर हुन्छ। पाचनमा सहजता टुसा उमारेका कारण यसले पेटमा ग्यास्ट्रिक गराउँदैन र सजिलै पच्छ।
तापक्रम सन्तुलन जवानो, अजवाइन र मरिच हालेर पकाइएको तातो झोलले वर्षायाममा लागेको चिसो र बाथरोगबाट जोगाउँछ। यसमा पाइने प्रचुर फाइबर र एन्टिअक्सिडेन्टले इम्युनिटी पावर बढाउँछ।
बजार तथा कारोबारको वर्तमान अवस्था
पहिले पहिले क्वाँटी बनाउन घरमै ४, ५ दिनअघि गेडागुडी भिजाएर टुसा उमारिन्थ्यो। तर जीवनशैली, सहरीकरण र व्यस्तताका कारण अहिले यसको व्यापारिक स्वरूप निकै फराकिलो भएको छ ।
अहिले जनै पूर्णिमाको १,२ साता अघिदेखि नै किराना पसल, सुपरमार्केट तथा अनलाइन स्टोरहरूमा ९ थरी गेडागुडी मिसाइएका प्याकेटहरू छ्यापछ्याप्ती पाइन्छन्।
काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक लगायत स्थानीय बजार र तरकारी मण्डीहरूमा टुसा उमारेकै तयारी क्वाँटीको माग निकै उच्च हुन्छ।
जनै पूर्णिमाको मौसममा नेपालभर सयौँ टन गेडागुडीको खपत हुन्छ। यस पर्वको आसपास मात्रै गेडागुडी तथा क्वाँटीको कारोबार करोडौँ रुपैयाँमा पुग्ने गर्छ।
नेपालमा खपत हुने क्वाँटीका धेरैजसो गेडागुडी (जस्तै चना, सिमी, बोडी) भारत, क्यानडा तथा अस्ट्रेलियाजस्ता देशबाट आयात हुने गरेकाले स्थानीय उत्पादन बढाउनुपर्ने चुनौती पनि रहेको छ।नेपालीहरूको क्वाँटी खाने पर्व केवल धार्मिक वा सांस्कृतिक मात्र नभएर ऋतु परिवर्तन अनुसार शरीरलाई स्वस्थ राख्ने हाम्रा पूर्वजहरूको वैज्ञानिक जीवनशैलीको प्रतीक हो।
क्वाँटी किन जनैपूर्णिमामै खाइयो ?
यसको उत्तर धार्मिकभन्दा बढी कृषि र मौसमसँग जोडिएको देखिन्छ। जनैपूर्णिमा सामान्यतः साउनरभदौमा पर्छ। यो नेपालको मनसुनको मध्य–अन्त्यतिरको समय हो। परम्परागत काठमाडौं उपत्यकाको कृषि समाजमा यही समयमा धान रोपाइँको मुख्य काम सकिने र किसानहरू लामो समयसम्म खेतमा श्रम गरिसकेका हुन्थे।
पुरानो काठमाडौं उपत्यका तुलनात्मक रूपमा आत्मनिर्भर कृषि समाज हुँदा यही समयमा घरमा राखेको चामलको भण्डार घट्दै जाने र नयाँ धानको मुख्य उत्पादन अझै आउन बाँकी हुने अवस्था थियो। त्यसैले गेडागुडी ऊर्जा र पोषणको महत्त्वपूर्ण स्रोत हुन्थे।
क्वाँटीका गेडागुडी सामान्यतः भिजाएर टुसा निकालिन्छन् र त्यसपछि पकाइन्छ। यसले क्वाँटीलाई साधारण दालभन्दा फरक बनाउँछ। परम्परागत रूपमा यसलाई शरीरलाई बलियो बनाउने, खेतको कामपछिको थकान कम गर्ने र वर्षायाममा तातो झोलका रूपमा उपयोगी मानिएको छ।
सबैभन्दा रोचक कुरा: क्वाँटी अब नेवार समुदायको मात्र रहेन
कुनै समय काठमाडौं उपत्यकाको नेवार समुदायमा विशेष पहिचान भएको क्वाँटी अहिले देशव्यापी खाद्य संस्कृति बनिसकेको छ। नेपाल पर्यटन बोर्डले पनि जनैपूर्णिमालाई देशव्यापी पर्वका रूपमा वर्णन गर्दै नेवार समुदायमा क्वाँटी विशेष भोजन भएको उल्लेख गर्छ।
यसलाई खाद्य संस्कृतिको व्यवसायिकरण गरेको छ । यही परिवर्तनले क्वाँटीलाई एउटा सानो सांस्कृतिक परिकारबाट बजारयोग्य खाद्य उत्पादन बनाइरहेको छ।
नेपालमा क्वाँटी आफैँमा छुट्टै एउटा खेती गरिएको बाली नभई विभिन्न ९ थरीका गेडागुडीहरू (दाल र दलहन बाली) को मिश्रण हो। यसमा मास, मुगी, चना, केराउ, बोडी, सिमी, भटमास, गहत, र बकुल्ला जस्ता गेडागुडी समावेश हुन्छन्।
आन्तरिक उत्पादनको अवस्था
नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याँक अनुसार नेपालमा वार्षिक रूपमा गेडागुडी (दालजन्य बाली) को उत्पादन घटबढ भइरहन्छ । नेपालमा वार्षिक करिब ३ लाख ४० हजार देखि ३ लाख ८० हजार मेट्रिक टन सम्म गेडागुडी (दलहन) उत्पादन हुन्छ। तराई तथा भित्री मधेसमा चना, मास, केराउ र मुगीको उत्पादन बढी हुन्छ भने पहाडी तथा उच्च हिमाली क्षेत्रमा सिमी, बोडी, बकुल्ला र गहत उत्पादन हुन्छ। क्वाँटीमा प्रयोग हुने गहत र रैथाने पहाडी सिमी धेरैजसो नेपालकै आन्तरिक उत्पादनले धान्छ।
आयात
नेपालमा दाल तथा गेडागुडीको आन्तरिक उत्पादनले कुल मागको आधा हिस्सा पनि धान्न नसक्दा बाँकी आयातमा निर्भर हुनुपर्छ । भन्सार विभागको तथ्याँक अनुसार नेपालले प्रतिवर्ष रु. १० अर्ब देखि रु १३ अर्ब बराबरको विभिन्न गेडागुडी आयात गर्छ। परिमाणका हिसाबले यो वार्षिक करिब २ लाख देखि २ लाख ५० हजार मेट्रिक टन हुन्छ। भारतबाट सबैभन्दा धेरै गेडागुडी आयात हुन्छ। यसका साथै क्यानडा (केराउ र सिमी), अस्ट्रेलिया (चना), रुस, म्यानमार र ब्राजिलबाट पनि ठूलो परिमाणमा आयात गरिन्छ।